काठमाडौं, १६ चैत्र ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दुई चार हजार तलमाथि पर्ने डरले काममा ढिलाई नगर्न पुनर्निर्माण प्राधिकरण कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले १÷२ महिनामा नै गर्नुपर्ने काम एक वर्षमा पनि नसकिएको गुनासो गर्दै गरेका कामलाई दैनिक रुपमा सार्वजनिक गर्न समेत निर्देशन दिनुभयो ।
यही गतिमा काम भएमा एक दशकसम्म पनि पुनर्निर्माणको काम नहुने प्रधानमन्त्री ओलीको भनाई छ ।
प्रधानमन्त्री ओलीले संकटका बेलामा ऐन हेरेर काम गर्नुभन्दा पनि व्यवहारिक रुपमा काम गर्नुपर्ने र त्यही अनुसारको ऐन बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाले भन्नुभयो , २ ÷४ हजार तलमाथी हुन्छ की भनेर काम गर्न डराउने होईन , तर यो बेलामा पनि लापरबाही गर्ने जो कोहीलाई माफी दिईनेछैन ।
कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प प्रभावित क्षेत्रको सर्भे गर्ने ८० प्रतिशत काम सकिएको दाबी गर्नुभयो ।
उहाले भूकम्प प्रभावित क्षेत्रमा १६ सय इन्जिनियर पठाइ सकिएको भन्दै चैत २१ गतेसम्म सबैतिर रकम वितरणको प्रक्रिया सुरु गरिसक्ने जानकारी दिनुभयो ।