काठमाडौ, १६ चैत्र ।
कानुनमन्त्री अग्नि खरेलले संविधान निर्माणमा सबै दलले देखाएको सहकार्य र एकता कार्यान्वयनमा पनि आवश्यक रहेको बताउनु भएको छ ।
झापाको दमकमा आज युवा संघ झापा क्षेत्र नम्बर ७ ले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै मन्त्री खरेलले नेपाली काँग्रेस पनि यही सरकारमा आएर संविधान कार्यान्वयनतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री खरेलले जारी नयाँ संविधान जनताको उपलब्धि भएकाले यसको प्रभावकारी कार्यान्वयनका लागि दलबीच सहकार्य जरुरी भएको बताउनु भयो । काँग्रेस प्रतिपक्ष भन्दा पनि सरकारमा नै सहभागी भएर संविधान कार्यान्वयनमा सामेल हुनुपर्ने उहाँको भनाई थियो ।
मन्त्री खरेलले प्रधानमन्त्रीको भारत र चीन भ्रमण आपसी समझदारीका लागि फलदायी रहेको बताउनु हँुदै भ्रमणका विषयमा अनावश्यक टीका टिप्पणी गर्नु उचित नभएको धारणा राख्नु भयो ।
एमालेका पोलिटब्युरोसमेत रहनुभएका उहाँले भारत र चीनसँग भएका केही महत्वपूर्ण सन्धि र सम्झौताले अब नेपालको विकासमा टेवा पुग्ने जिकिर गर्नुभयो ।