काठमाडौ १३ चैत्र ।
राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च सांस्कृतिक, धार्मिक र सभ्यताको धरोहर वागमती नदीको अस्तित्व सङ्कटमा परेकाले जीवन्त बनाउन सबै एकजुट हुनुपर्ने बताउनु भएको छ ।
वागमती सफाइ महाअभियान १ सय ५० सप्ताहमा प्रवेश गरेको अवसरमा अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिको आयोजनामा आजदेखि गुह्येश्वरीमा सुरु भएको ‘वागमती महोत्सव’ उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
राष्ट्रपति भण्डारीले वागमतीको जीवन्तता भावी पुस्तासम्म बचाउनका लागि प्राकृतिक चीजबीजको सङ्ग्रह गरेर वागमती सङ्ग्रहालय निर्माण गरिनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।
जीवनको पीडादायी अवस्थामा समेत वागमतीसँग भावनात्मक सम्बन्ध गाँसिएकाले स्वच्छ बनाउने अभियानमा आफू सधैँ लाग्ने उहाँको प्रतिबद्धता थियो ।
वागमतीलाई पुर्खाले छोडेकै अवस्थामा पु¥याउनका लागि विज्ञान र प्रविधिलाई जोडेर सरसफाइमा जुट्नुपर्ने उहाँको भनाइ थियो ।
सो अवसरमा कावा प्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले वागमती नेपालको धर्म, संस्कृति सभ्यतालाई प्रतिनिधित्व गर्ने नदी भएकाले यसको स्वच्छतामा सबैको ध्यान जानुपर्ने आवश्यकता औँल्याउनुभयो ।
“वागमतीमा जस्तै देशको राजनीतिक, सामाजिक र धार्मिक क्षेत्रमा समेत प्रदूषण फैलिएको छ, १५० हप्तामा त वागमती पूर्णरुपमा सफा हुन सकेको छैन भने राजनीतिक, सामाजिक, विकास र धार्मिक क्षेत्रमा व्याप्त फोहरलाई सफा गर्न सबै नागरिकको सहयोगबिना सम्भव हुनेछैन”–उहाँले भन्नुभयो ।
पूर्व मुख्यसचिव एवम् वागमती सफाइ महाअभियानका प्रमुख अभियानकर्मी लीलामणि पौडेलले नदी फोहर बनाउनेले नै सफाइ नगरे नदीलाई प्राकृतिक अवस्थामा फर्काउन नसकिने भएकाले नागरिक टोलटोलबाट सफाइमा जुट्नुपर्ने बताउनुभयो । “सफाइमा सरकारी निकायका राष्ट्रसेवक पनि लाग्नुपर्छ, राष्ट्रसेवकले गरेको कामको नागरिकले अनुगमन गर्नुपर्छ, कसैले गलत काम गरेमा नागरिक खबरदारी गरिनुपर्छ, यसो भएमात्र वागमती सफा हुनसक्छ”–उहाँले भन्नुभयो ।
समितिका अध्यक्ष किशोरकुमार शाक्यले वागमती सफाइका लागि जनचेतनामूलक अभियान सुरु भएपछि यसका सहायक नदी र देशभरका अन्य पोखरी, तालतलैया पनि सफा गर्न स्थानीयवासी जुट्नु सकारात्मक भएको बताउनुभयो ।
विसं २०७० जेठ ५ गते शनिबारदेखि वागमती सफाइ महाअभियान सुरु भएको थियो । यो अभियानपछि सुन्दरीजलबाट गुह्येश्वरीसम्मको वागमती सफा हुनका साथै ४० वर्षपछि गुह्येश्वरी क्षेत्रको नदीमा माछा खेल्न थालेका छन् । समिति परिसरमा निर्मित बाल उद्यानको पनि आजै राष्ट्रपति भण्डारीले उद्घाटन गर्नुभयो । आजको सफाइमा राष्ट्रपति भण्डारी पनि सहभागी हुनुभयो ।
‘मेरो सपनाको वागमती’ शीर्षकमा आयोजना गरिएको उपत्यकाव्यापी कविता र चित्रकला प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र चौँथो हुने विद्यार्थीलाई क्रमशः रु २५, १५, १० र रु पाँच हजार नगदसहित राष्ट्रपति भण्डारीले सम्मान गर्नुभएको थियो ।
भोलिसम्म चल्ने महोत्सवमा वागमतीसँग सम्बन्धित तस्बिर, चित्रलगायत ऐतिहासिक चीजबीजको प्रदर्शन गरिएको छ ।