भक्तपुर, १२ चैत ।
नेपाली काँग्रेसका युवा नेता एवम् केन्द्रीय सदस्य प्रदीप पौडेलले काँग्रेस संसदीय दलको नेता सर्वसम्मत चयन हुने बताउनुभएको छ ।
रफत् सञ्चार क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले भन्नुभयो, “संसदीय दलको नेता चयनका लागि प्रक्रिया अघि बढेको छ । नेताहरुबीच सहमतिमै दलको नेता सर्वसम्मतरुपमा चयन हुने सम्भावना छ ।”
महाधिवेशनले पदाधिकारी चयनसँगै वैचारिक पक्षलाई गम्भीर ढङ्गले छलफल गरेको चर्चा गर्दै नेता पौडेलले काँग्रेसले ठूला दलको हैसियतले नेपाल र नेपालीको हितमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
काँग्रेस मुलुकको सबैभन्दा ठूलो दल भएकाले सरकारको नेतृत्व गर्न अघि बढ्नु सामान्य भएको बताउँदै उहाँलेसरकार परिवर्तनका लागि काँग्रेस तयार भएको सङ्केतसमेत गर्नुभयो ।
संविधान जारी भए पनि कार्यान्वयनको पाटो जटिल रहेकाले सबै राजनीतिक दलले यसतर्फ ध्यान दिन जरुरी रहेको छ भन्दै नेता पौडेलले मधेस अन्दोलनका जायज माग पूरा गर्न काँग्रेस जहिले पनि अग्रपङ्क्तिमा उभिने बताउनुभयो ।