काठमाडौं, चैत्र १०
नेप्से परिसूचक आज साढे ३ अंकले उकालो लागेको छ । बैंकिङ समूह बढ्दा समग्र नेप्से परिसूचक पनि उकालो लागेको हो । बजारमा अन्य सबै समूहका परिसूचक ओरालो लागे पनि बैंकिङ समूहको परिसूचक बढ्दा नेप्से परिसूचक ३ दशमलव ४६ अंकले बढेको हो ।
बजारमा प्रभाव पार्ने बैंकिङ समूहको परिसूचक १२ दशमलव २४ अंकले बढ्दा नेप्से परिसूचक एक हजार तीन सय ४५ दशमलव ५३ अंकमा पुगेर अडिएको छ ।
आज सबैभन्दा बढी बीमा समूहको परिसूचक ६० अंकले ओरालो लागेको छ । यसैगरी, जलविद्युत समूह ४० अंकले घट्दा विकास बैंक समूह २ दशमलव २९ अंकले घट्न पुगेको छ । दिनभर बैंकिङ समूहका लगानीकर्ता बाहेक अन्य सबैले गुमाएका छन् ।
अघिल्लो दिनको तुलनामा आज कारोबार रकममा पनि गिरावट आएको छ । सोमबार कूल ९७ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज ७३ करोड ३५ लाख रुपैयाँ बराबरको १४ लाख २६ हजार कित्ता शेयर कारोबार भएको छ । दिनभर कूल एक सय ३१ कम्पनीको शेयर खरिद बिक्री भएको छ ।
बजारमा नेपाल बैंक लिमिटेडको सबैभन्दा बढी शेयर खरिद बिक्री भएको छ । नेपाल बैंकको सात करोड ३८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । पछिल्लो समय नेशनल हाइड्रो पावरको पनि शेयर खरिद बिक्री बढेको छ ।