मुहान सुक्न थालेपछि महोत्तरीमा खानेपानीको हाहाकार

मुहान सुक्न थालेपछि महोत्तरीमा खानेपानीको हाहाकार

  • मङ्लबार, चैत्र ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

बर्दिवास, ९ चैत ।

महोत्तरी जिल्लाको उत्तरी क्षेत्रमा खानेपानीको मुख्य स्रोत इनार र चाँपाकल धमाधम सुक्न थालेपछि जिल्लाको उत्तरवत्र्ती क्षेत्रमा खानेपानीको हाहाकार भएको हो ।

विगत वर्षमा वैशाख र जेठ महिनामा इनार, कल सुक्ने गरे पनि यसपालि भने चैत मध्य नहुँदै सुकेकाले खानेपानीको हाहाकार मच्चिएको उत्तरवत्र्ती क्षेत्रका बासिन्दाको भनाइ छ ।

जिल्लाको बर्दिवास नगरपालिकाका किसाननगर, कृष्णपुर, मनहरिपुर, प्रेमनगर र फुलबारी टोललगायतका बस्ती तथा भङ्गाहा, पशुपतिनगर, बिजलपुरा, बेलगाछी, भरतपुर र लक्ष्मीनियाँसहितका गाविसका इनार सुकेपछि खानेपानीको हाहाकार परेको हो ।

यसपालि चैत मध्य नहुँदै खानेपानीका मुहान सुकेकाले वर्षायाम नआउञ्जेल खानेपानीको हाहाकार रहने छाँट देखिएको पशुपतिनगर गाविसका निवर्तमान अध्यक्ष रामधनी महतोले बताउनुभयो ।

खानेपानीका लागि चाँपाकल मुख्य स्रोत रहेको जिल्लाको भङ्गाहा गाविसमा चाँपाकल सुक्दै गएपछि समस्या बढेको छ । चैत लागेदेखि नै कल सुक्न थालेपछि खानेपानी लिन गाउँबस्तीबाट दुई किमी दूरीको बडहरी र रातुखोला छेउका जरुवा धाउनुपरेको भङ्गाहा–४ की मधुमती सहनीले बताउनुभयो ।

चैतको दोस्रो साता नबित्दै गाविसका ६० प्रतिशत चाँपाकल सुकिसकेका सो गाविस कार्यालयले जनाएको छ । खानेपानी अभाव बढेपछि यसपालि अन्य शीर्षकका योजनाको रकम पनि राजनीतिक दलको सहमतिमा नयाँ इनार निर्माणमा लगाउन थालिएको गाविस सचिव प्रमोदकुमार यादवले बताउनुभयो ।

यसपालि वर्षायाममा राम्रो पानी नपरेको र हिउँदे वर्षा पनि नभएकाले पानीका स्रोत चाँडै सुक्न थालेका बूढापाकाको भनाइ छ । वन जङ्गल मासिँदै गएर खण्डवृष्टि, अल्पवृष्टि र कुसमयको अतिवृष्टि हुने क्रम बढेकाले पानीका मुहान सुक्ने र बाढीले पुरिने गर्दा समस्या बढेको पशुपतिनगर–४ का बासिन्दा एवम् गाविसका पूर्वअध्यक्ष ७८ वर्षीय नथुनी महतोले बताउनुभयो ।

जिल्लाको सुदूर उत्तरवर्ती क्षेत्रको हात्तीलेट र खयरमारा गाविस एवम् माईस्थान, गौरीवास र बर्दिवाससहितका बर्दिवास नगरपालिका क्षेत्रमा पनि खानेपानीको समस्या बढेको छ ।

रातु नदीको मुहानबाट ल्याइएको पानी भण्डारण गरेर धारामार्फत वितरण प्रणाली अपनाइएका यी गाविस बस्तीमा नदीको पानी सुक्दै गएपछि चैत दोस्रो साता सुरु भएदेखि नै समस्या सुरु भएको बर्दिवास खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष चुडामणि पोखरेलले बताउनुभयो ।

यसैबीच जिल्लास्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले पानीका मुहानको संरक्षण र सरसफाइमा ध्यान दिन उपभोक्तासँग अपिल गरेको छ ।

मुहानको संरक्षण र निरन्तरको सफाइले मुहानमा पानी सुक्नबाट बचाउन सकिने भएकाले यसका लागि सचेतना अभियान नै सुरु गरिएको कार्यालयका प्रमुख डिभिजन इञ्जिनियर देवेन्द्र झाले बताउनुभयो ।
कार्यालयले यसपालि खानेपानीको समस्या देखिएका नगर गाउँबस्तीको समस्याको स्थायी समाधानका लागि पानी भण्डारण गर्ने ठूला ट्याङ्की निर्माण कार्यलाई प्राथमिकतामा राखेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी