पोखरा, ९ चैत । बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ‘ह्यारी’लाई आज पोखरा विमानस्थलमा स्वागत गरिएको छ ।
नेपाली सेनाको हेलिकप्टरबाट पोखरा विमानस्थल झर्नुभएका ह्यारीलाई कास्कीका प्रजिअ हरिप्रसाद मैनाली लगायत उच्चपदस्थ अधिकारीले स्वागत गर्नुभएको हो । कडा सुरक्षा व्यवस्थाका साथ विमानस्थलबाट सडक मार्ग हुँदै उहाँ लामाचौरस्थित ब्रिटिस क्याम्प जानु भएको थियो ।
ब्रिटिस क्याम्पको समारोहमा सहभागी भई ह्यारी आजै काठमाडौंँ फर्कने कार्यक्रम छ । बेलायती राजदूतावासका अनुसार सुन्दर पर्यटकीय नगरी पोखराको प्राकृतिक दृश्यावलोकन गर्न ह्यारी पोखरा आउनु भएको हो ।
नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापनाको २०० वर्ष पुगेको अवसरम पारस्परिक सम्बन्धका दुई शताब्दीलाई चिरस्मरणीय तुल्याउन बेलायतकी महारानीका प्रतिनिधिका रूपमा आउनुभएका ह्यारीको पोखरा भ्रमणलाई महत्वपूर्ण अवसरका रुपमा पोखरेलीले लिएका छन् ।