काठमाडौँ, ८ चैत । एकीकृत नेकपा माओवादी केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ ।
बिहान ११ बजे पछि पार्टी मुख्यालय पेरिसडाडामा बैठक बस्ने छ ।
बैठकमा पार्टीको महाधिवेशन, संगठन सुदृढीकरण आदिका विषयमा छलफल हुने प्रवक्ता दिनानाथ शर्माले जानकारी दिनु भयो ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी एक वर्ष भित्र पार्टीको महाधिवेशन गर्ने प्रस्ताव गर्नु भएको छ ।
प्रवक्ता दीनानाथ शर्माका अनुसार वडादेखि प्रदेशतह सम्मको अधिवेशन गर्ने र एक वर्ष भित्र महाधिवेशन गर्ने प्रस्ताव भएको हो ।
यस्तै दाहालले पार्टीलाई सङ्गठित, व्यवस्थित बनाउँदै विभिन्न रुपमा रहेका माओवादी दल तथा समूहसँग एकता गर्ने प्रस्ताव समेत गर्नु भएको छ ।
उहाँले जनतालाई पुनःविश्वासमा लिएर पार्टीलाई एक नम्बरको बनाउने र राष्ट्रिय समस्या समाधानमा प्रतिबद्ध भएर लाग्न जनपरिचालन एवम् सङ्गठन सुदृढीकरण अभियान सञ्चालन गर्नेसमेत आफ्नो प्रस्तावमा उल्लेख गर्नु भएको छ ।
यस्तै पार्टी परित्याग गरी नयाँ शक्तिमा लागेका नेताको स्थानमा पदपूर्ति गर्न सचिव वर्षमान पुनको संयोजकत्वमा एक कार्यदलको प्रस्ताव गरिएको छ ।
सो कार्यदलको प्रतिवेदनका आधारमा आवश्यक निर्णय लिइनेछ ।