काठमाडौ ७ चैत्र ।
प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी औपचारिक भ्रमणका लागि आज चीन जाँदै हुनुहन्छ । चीनीयाँ सरकारको औपचारिक निमन्त्रणामा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उहाँ बेइजिङ प्रस्थान गर्न लाग्नु भएको हो ।
बिहान ११ बजे हिमालयन एयरलाइन्सको विशेष चार्टर्ड विमानबाट त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमण उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, वाणिज्यमन्त्री दीपक बोहोरा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल लगायत प्रमुख प्रतिपक्षी दलका साँसद समेत सहभागी छन् ।
भ्रमणका क्रममा उहाँले चीनीयाँ समकक्षी लि खछ्याङ, राष्ट्रपति सी जिनपिङ, विभिन्न दलका शिर्ष नेतालगायत चिनीयाँ उच्चअधिकारीसँग भेट गर्नुहुने कार्यक्रम रहेको प्रधानमन्त्रीका राजनितिक सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो ।
भोली चीनको जनबृहत् प्रेक्षालयमा प्रधानमन्त्री ओलीको स्वगतमा समारोहको आयोजना गरिएको छ । भोली नै उहाँले समकक्षी लि खछ्याङसँग भेट गर्नुहुने कार्यक्रम छ । चिनीयाँ समय अनुसार भोली बिहान ११ बजे हुने भेटमा दुई देशबीच पारस्परिक हित र साझा चासोका विषयमा छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा दुई देशबीच पारबहन तथा यातायात सम्झौता र स्वतन्त्र व्यापार क्षेत्र स्थापना सम्बन्धी सम्झौता लगायत दर्जन समझदारी पत्रमा हस्तारक्षर हुनेछ ।
प्रधानमन्त्री ओलीले चाइनिज पिपल्स पोलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्सका अध्यक्ष यु झेङसेङसँग पनि भेट गर्ने कार्यक्रम छ । भ्रमण सकाएर प्रधानमन्त्री ओली र उहाँ नेतृतवको टोली आगामी चैत्र १४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।