काठमाडौँ, ५ चैत ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणको तयारीका बारेमा सत्तापक्षलगायत विभिन्न विपक्षी पार्टीका नेताहरुसँग छलफल गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको छलफलमा सहभागी नेताहरुले चीन भ्रमण सफल र फलदायी बनाउन तथा नेपालको आर्थिक विकासका साथै दुई देशको मित्रता बलियो बनाउन आग्रह गर्नुभयो ।
उहाँहरुले भारत भ्रमण जस्तै चीन भ्रमणलाई विवादरहित बनाउन सुझाव दिनुभयो । छलफलपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्दले चीनसँगको थप नाका खुलाउन तथा संयुक्त लगानी वृद्धि गरी आर्थिक विकासमा भूमिका निर्वाह गर्न आग्रह गरिएको बताउनुभयो ।
नेकपा (एमाले)का प्रमुख सचेतक भानुभक्त ढकालले थप नाका खोल्ने, रेलमार्ग विस्तार, जलविद्युत् विकासजस्ता विषयमा अघि बढ्न सुझाव प्राप्त भएको बताउनुभयो ।
एनेकपा (माओवादी)का महासचिव कृष्णबहादुर महराले राष्ट्रिय स्वार्थका मुद्दामा भारत भ्रमणमा झैँ नझुकीकन नेपालको बृहत्तर हितमा भ्रमण सफल बनाउन आग्रह गरिएको जानकारी दिनुभयो ।
नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकका कारण काग्रेसबाट कोही पनि छलफलमा उपस्थिति भएनन् । तर आज बिहानै प्रम ओलीले नवनिर्वाचित सभापति शेरवहादुर देउवासँग भेटवार्ता गरिसक्नुभएको थियो ।