पोखरा, ५ चैत ।
सार्कको मिनी सम्मेलनमा सहभागी सार्क सदस्य राष्ट्रका विदेश मन्त्रीसहित सहभागीहरु आज स्वदेश फर्किएका छन् । सम्मेलनमा सहभागी पाहुनाको आज पोखरामा बिदाइ गरिएको थियो ।
पोखरा सम्पन्न परराष्ट मन्त्रिस्तरीय बैठक, विभिन्न द्विपक्षीय र बहुपक्षीय भेटघाटमा व्यस्त रहनुभएका मन्त्रीहरू बैठक सम्पन्न गरी आज फर्कनुभएको हो ।
भारतका विदेश मन्त्री सुष्मा स्वराज, माल्दिभ्सका विदेशमन्त्री डुन्या मैमुन, श्रीलङ्काका विदेशमन्त्री मङ्ला सामरावेरा, बङ्गलादेशका विदेशमन्त्री अबुल हसन मोहमद अली, भुटानका विदेशमन्त्री डामचो दोर्जी, अफगानिस्तानका उपविदेशमन्त्री हिक्मत खालिद कार्जाइ र पाकिस्तानका प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार सर्ताज अजिजलाई आज बिदाई गरिएको थियो ।
भारतीय विदेशमन्त्री सुष्मा स्वराज भारतबाट आफ्नै एयर फोर्सबाट पोखरा आउनुभएको र आज सोही विमानबाट भारत फर्कनुभएको परराष्ट्र मन्त्रालयका नायब शिष्टाचार महापाल राजाराम बर्तौलाले जानकारी गराउनुभयो ।
अन्य सार्क राष्ट्रबाट आउनुभएका विदेश मन्त्रीसहित पाहुनाहरू काठमाडौँ भएर स्वदेश जाने कार्यक्रम भएको परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गानाले बताउनुभयो ।
विशिष्ट पाहुनालाई पोखरा विमानस्थलमा उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री कमल थापा, नायब शिष्टाचार महापाल राजाराम बर्तौला, क्षेत्रीय प्रशासक शङ्करप्रसाद कोइरालालगायतले बिदाइ गर्नुभएको थियो ।
सार्कको मिनी सम्मेलन नेपालको इतिहासमा नै पहिलोपटक राजधानी काठमाडौँ बाहिर पोखरामा गरिएको थियो ।