अन्तर्राष्ट्रिय व्यापार मेला सुरु

अन्तर्राष्ट्रिय व्यापार मेला सुरु

  • बिहिबार, चैत्र ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौँ, ४ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले आज आयोजित विशेष समारोहका बीच पाँचौँ नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला, २०१६ को उद्घाटन गर्नुभयो ।

समारोहमा राष्ट्रपति भण्डारीले मेलाले दक्षिण एसियामा व्यापारिक सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै आधुनिकीकरण र उदारीकरणको अवसर र चुनौतीका बीच स्वदेशी उत्पादनलाई प्राथमिकता दिई अर्थतन्त्रलाई माथि उठाउनुपर्ने बताउनुभयो ।

उहाँले नयाँ संविधानले राजनीतिक सङ्क्रमणकाल अन्त्य गरी मुलुक आर्थिक विकासमा अग्रसर भइरहेका बेला वैदेशिक लगानीलाई पनि आकर्षित गराउन र निर्यात बढाउन ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रपति भण्डारीले नयाँ व्यापारिक साझेदारीको खोजी, स्थानीय कच्चा पदार्थमा आधारित उद्योगमा जोड, मानव संशाधनका विकास, पर्यटन विकास, रोजगार, सीप, पारस्परिक लाभ, मौलिक कलालाई आत्मसात् गर्दै आत्मनिर्भर अर्थतन्त्रमा जान पनि सुझाव दिनुभयो ।

मेलाले नेपाललाई सक्रिय र विश्वासिलो व्यापार साझेदारका रुपमा स्थापित गर्ने र बाह्य लगानीका लागि नेपाल सुरक्षित छ भन्ने सन्देश दिन सफल हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले पछिल्लो समयमा व्यापार मेलाको सङ्ख्या बढे पनि उपयुक्त स्थान र पूर्वाधार विकासको अभाव रहेको गुनासो गर्दै सरकारले तय गरेबमोजिम चोभारमा अन्तर्राष्ट्रिय व्यापार मेलास्थल चाँडो बनाउन माग गर्नुभयो ।

उहाँले मेलाबाट उपभोग्य वस्तु र नेपाली उत्पादनको बजार बढ्न गई निर्यात बढ्ने तथा अर्थतन्त्र सबल हुने विश्वास व्यक्त गर्नुभयो ।

भारतीय चेम्बर अफ कमर्सका महानिर्देशक डा राजीव सिंहले नेपाल र भारतबीच शताब्दीदेखिकोे लामो र ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै भारतीय उद्योगी ऊर्जा विकासमा काम गर्न उत्सुक रहेको बताउनुभयो ।

चीनको वाणिज्य मन्त्रालयअन्तर्गतको व्यापार केन्द्रका उपनिर्देशक उ थिङ ताओले मेलाको सफलताको कामना गर्दै आफ्नो सरकार नेपालको उद्योग क्षेत्रमा लगानी बढाउन, आधुनिक प्रविधि भित्र्याउन तत्पर रहेको बताउनुभयो ।

‘नेपाली वस्तु प्रवद्र्धन समृद्ध नेपाल निर्माण’ भन्ने नाराका साथ वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा भृकुटीमण्डपमा गरिएको पाँचदिने मेलामा हस्तकला र जडीबुटीसम्बन्धी उत्पादन रहनेछन् ।

महासङ्घका व्यापार मेलाका संयोजक केशवराज पाण्डेका अनुसार ३५० कक्ष रहेको मेलामा चीन, भारत, बङ्गलादेश, पाकिस्तान र अन्य मुलुकका उत्पादन रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी