काठमाडौं, चैत्र ३
बाणिज्य मन्त्री दीपक बोहराले नेपालमा लगानी गर्ने उपर्युक्त समय आएको बताएका छन् । नेपाल भ्रमणमा रहेका बेलायती व्यावसायी सम्मिलित टोलीसँग आज नेपाल चेम्बर अफ कमर्समा आयोजित छलफल कार्यक्रममा बोल्दै उनले नेपालमा नयाँ संविधान जारी भई राष्ट्र स्थायित्वतर्फ बढेकाले लगानी गर्न हिच्किच्याउन नपर्ने बताएका हुन् ।
सरकार स्वदेशी तथा विदेशी पूँजी आकर्षित गर्न लगानीमैत्री वातावरण बनाउन लागिपरेको बताउँंदै उनले नेपालमा उत्पादित वस्तुको भारत र चीनका बजारमा सहज पहुँच भएकाले जलश्रोत, ऊर्जा, भौतिक पूर्वाधार, पर्यटन, कृषि, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगानी गरी फाइदा लिन बेलायतका उद्यमीलाई आग्रहसमेत गरेका छन् ।
सोही कार्यक्रममा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले मुलुकका ठूला परियोजनामा ठूला पूँजी र प्रविधिको आवश्यकता रहेको बताउँदै उनले नेपालको निजी क्षेत्र बेलायतको निजी क्षेत्रसँग मिलेर कार्य गर्न उत्सुक छ । बेलायती भ्रमण टोलीका सदस्य रिचार्ड पेलीले बेलायतका लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको बताएका छन् ।
उनले आफ्नो टोली व्यापार तथा लगानीका क्षेत्र पहिचान गर्ने उद्देश्यले नेपाल भ्रमणमा आएको बताए । ब्रिटेन–नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजन कँडेलले बेलायत र नेपालबीच व्यापार तथा लगानी क्षेत्रका साझा समस्या र लगानीका अवसर पहिचान गर्न आफ्नो संस्थाले भूमिका निर्वाह गर्दै आएको बताएका थिए ।