चितवन, चैत्र ३
मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा माओवादी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) चितवनको आज हुने भनिएको जिल्ला सम्मेलन स्थगित भएपछि दुई तिहाई जिल्ला सदस्य असन्तुष्ट बनेका छन् ।
असन्तुष्ट समूहले आज एक विज्ञप्ति जारी गर्दै सम्मेलन स्थगितको विरोध जनाएका छन् । उनीहरूले विज्ञप्तिमार्फत सम्मेलन स्थगनको नैतिक जिम्मेवारी संयोजकले लिनुपर्ने बताएका छन् । उनीहरूले संयोजक अमृत चापागाईंको नेतृत्वमा हुने कुनै पनि कार्यक्रममा सहभागी नहुनेसमेत जनाइएको छ ।
यसअघि फागुन ३० गते संयोजक चापागाईंले तयारी नपुगेको भन्दै केही दिनका लागि सम्मेलन स्थगित भएको विज्ञप्ति जारी गरेका थिए ।
आज भने असन्तुष्ट पक्षले विज्ञप्ति जारी गरी विरोध जनाएका हुन् । विज्ञप्ति जारी गर्ने सम्मेलन आयोजक सदस्यहरूमा दिपक पोख्रेल, अनुज जोशी, अभिनाश रम्तेल, सुष्मा गुरुङ, रूपक पोख्रेल, सुमन पौडेल, दुर्गा सुवेदी, शीतल घिमिरेलगायत रहेका छन् ।