काठमाडौ ३ चैत्र ।
काठमाडौको हनुमानढोकाको दक्षीणतर्फ बसन्तपूरमा आज तीनतले चीर ठड्याएपछि मुलुकभर होली पर्वको विधिवत् सुरुवात भएको छ ।
प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन रंगीचंगी कपडाका टुक्रा झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै मुलुकभर होलीको महोल सुरु हुन्छ ।
कथन अनुसार सिंहसार्थ बाह नाम गरेका एक व्यापारी सहित सात जना तिब्बतमा व्यापार गर्न गएको र फर्किने बेलामा बाटोमा राक्षसहरुले आक्रमण गर्दा व्यापारी सिंहसार्थ मात्र फर्किन सफल भएको खुसीयालीमा चीर ठड्याउने परम्परा सुरु भएको इतिहास खोजकर्ता पदम श्रेष्ठले जानकारी दिनुभयो ।
यसरी ठड्याएको चीरमा नेपालका विभिन्न जातजातिका कपडाको टुक्रा राखिएको हुन्छ । यसपर्वको होलिका दहन कथनसँग कुनै सम्बन्ध नरहेको श्रेष्ठको भनाई छ ।
वसन्त ऋतुको आगमनसँगै मनाइने भएकाले यस पर्वलाई वसन्तोत्सव वा मदनोत्सव पनि भन्ने गरिन्छ । यो पर्वमा ख्याली, टप्पा र बसन्त राग गाउदै, नाच्दै अबिर लगाएर शुभकामना अदानप्रदान गर्ने चलन छ ।
पूर्णिमाको रातमा चीर ढालेर टुडिँखेलमा लगेर दाह गरेपछि होली पर्व विधिवत रुपमा समाप्त हुन्छ । यसको भोलीपल्टबाट बसन्त ऋतु आरम्भ हुन्छ ।