भक्तपुर, २ चैत ।
कमलविनायकबाट खरिपाटी नगरकोट हँुदै काभ्रेको सिपाघाटसम्म जाने १६ किमी सडकको निर्माण अवरुद्ध भएको छ ।
भारत सरकारबाट करिब २५ करोडको लागतमा एक वर्षदेखि विस्तार भइरहेको उक्त सडकको निर्माण रुख काट्ने अनुमति नहुँदा र विद्युत् एवम् टेलिफोनका खम्बा नहटाउँदा अवरुद्ध भएको सडक विस्तार आयोजनाका कन्ट्र्याक्ट मेनेजर कुमारगौरव सिंहले बताउनुभयो ।
सडक निर्माणस्थलमा पर्ने सामुदायिक वनमा रुख काट्नका लागि जिल्ला वन कार्यलयबाट टाँचा लगाउने काम छ महिनाअघि नै भए पनि वन विभागले रुख काट्ने अनुमति नदिँदा सडक विस्तारमा समस्या आएको छ ।
सिंहले भन्नुभयो—“सडक विस्तारका लागि ल्याएको डोजर लगायतका प्राविधिक मेसिन १५ दिनदेखि थन्क्याएर राख्दा लाखाँैको नोक्सानी व्यहोर्नु परेको छ, पटक पटक रुख काट्ने अनुमति माग्दा र पोल हटाउन अनुरोध गर्दा पनि बेवास्ता भएपछि सडक निर्माण नै अवरुद्ध भएको छ ।”
सडक विस्तारमा परेको नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमका खम्बा समेत नहटाइँदा थप समस्या आएको छ । जिल्ला वन कार्यालयका प्रमुख सूर्यकान्त सिग्देलले भने सडकमा पर्ने रुख कटानी गर्न छ महिनाअघि नै टाँचा लगाइए पनि आयोजनाका बेवास्ताका कारण रुख कटान हुन नसकेको जिकिर गर्नुभयो ।