म्याग्दी, २ चैत ।
म्याग्दी सदरमुकाम बेनी बजारसँगै रहेको बगरफाँट जोड्ने वारीबेनी–बगरफाँट सडक दश महिनापछि खुलेको छ ।
२०७२ जेठ १० गते म्याग्दीको काफलडाँडाको भिरबाट बैसरीमा खसेको पहिरोले थुनिएको कालीगण्डकी खुल्ने क्रममा आएको बाढीले कालीपुल पारी कटान गरेको सडक १० महिनापछि मर्मत गरिएको हो ।
सरकारी निकायको आर्थिक तथा प्राविधिक सहयोग र बगरफाँटका बासिन्दाको श्रमदानमा सडक मर्मत गरेर सोमबारदेखि सञ्चालनमा ल्याइएको वारीबेनी बगरफाँट सडक उपभोक्ता समितिका अध्यक्ष मुकुन्द बैरागीले जानकारी दिनुभयो ।
सडक मर्मतका लागि ढुङ्गा सङ्कलन र ग्याबियन पर्खाल लगाउन २५० घरधुरीले १० दिनको दरले श्रमदान गरेका छन् । सडक मर्मत भएपछि बगरफाँटका साथै मल्लाज, बाँसखर्क र राम्चे गाविसका बासिन्दालाई सुविधा पुगेको छ ।
नदीले कटान गरेको ठाउँमा ९० मिटर ग्याबियन र रिटेनिङ पर्खाल लगाइएको छ । सडक मर्मतका लागि जिल्ला भूसंरक्षण कार्यालयले १०५, नदी नियन्त्रण कार्यालयले २८ र जिविस पर्वतले २० वटा तारजाली (ग्याबियन) उपलब्ध गराएका थिए ।
यसैगरी, जिविसले रु तीन लाख ५० हजार, गाविसले रु ५० हजार र नदी नियन्त्रण कार्यालयले रु दुई लाख नगद सहयोग गरेका अध्यक्ष बैरागीले बताउनुभयो ।
नदी किनारमा लगाइएको पर्खाल भर्न बेनी बजारका व्यवसायी भवबहादुर भण्डारीले पाँच घन्टा डोजर निःशुल्क प्रयोग गर्न दिएर सहयोग गर्नुभएको उपभोक्ता समितिले जनाएको छ ।