काठमाडौ ३० फागुन । सरकारले आजदेखि दोलखाको उत्तरी सिँगटी बजारबाट राष्ट्रिय पुनरनिर्माण अभियान सुरु गर्दैछ । भूकम्प पिडितका लागि स्थायी आवास निर्माणका लागि दिने भनिएको अनुदान बापतको पहिलो किस्ता ५० हजारका दरले वितरण गरेर अभियानको सुरुवात गर्ने प्राधिकरणले जनाएको छ ।
पहिलो चरणमा आज दोलखाको उत्तरी लादुक ८ र लामिडाँडा गाविस ६ का भूकम्प पीडितलाई अनुदान रकम हस्तानतरण गरिने प्राधिकरणका विज्ञसदस्य ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो ।
अनुदान वितरणका लागि प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीसहितको टोली आज सिँगटी जाँदैछ । सहसचिव रामप्रसाद थपलिया नेतृत्वको टोली भने यसअघि नै सिँगटी पगिसकेको छ ।
केन्द्रिय तथ्यांक विभागले स्थलगत रुपमा सर्वेक्षण पूरा गरिसकेका दोलखाको लामिडाँडा, लादुक, चिलँखा र बाबरेसहित ५ वटा गाविसका पीडितलाई अनुदानको पहिलो किस्ता वितरण गर्ने प्राधिकरणको तयारी छ ।
स्थायी आवास निर्माणका लागि अनुदान लिन भूकम्प पीडितलाई बैंक खाता खोल्न अनिवार्य गरी बैंक मार्फत भुक्तानीको व्यवस्था मिलाएको छ । अनुदान भुत्तानी गर्नुअघि गाविस र पीडितबीच स्थायी आवास निर्माण सम्बन्धी सम्झौता हुनेछ ।