काठमाडौ, २९ फागुन ।
सर्वोच्च अदालतमा न्यायाधिश सिफारिस प्रकरणमा विवाद बढ्दै गएपछि यस विषयमा छलफल गर्न न्यायपरिषद्को बैठक भोली बस्दैछ ।
सभामुख ओनसरी घर्तिले सर्वोच्च अदालतमा सिफारिस न्यायाधीशको नाम फिर्ता गर्नुभएपछि बढेको विवादबारे धारणा बनाउन प्रधान्यायाधीश एवं परिषद् अध्यक्ष कल्याण श्रेष्ठले बैठक बोलाउनुभएको हो ।
न्यायाधीश सिफारिस प्रकरणमाथि विरोध र समर्थनमा चर्काे बहस भइरहेका बेला भोली बस्ने परिषद बैठकले त्यसवारे औपचारिक धारणा बनाउने बताइएको छ ।
न्यायाधीश सिफारिस गर्ने निर्णय र फिर्ता पठाउने सभामुखको कदमको बिरुद्धमा हिजो सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट समेत दर्ता भएका छन् ।
स्रोतका अनुसार सभामुखको कदमप्रति राजनीतिक दल र विभिन्न क्षेत्रबाट बिरोध भइरहेकाले त्यसलाई सच्चाउन सभामुखलाई आग्रह गर्ने तयारी परिषदले गरेको छ ।
सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएका ११ जनाको नाम सभामुख घर्तिले बिधि र प्रक्रिया सम्मत नभएको भन्दै गत आइतवार परिषदमै फिर्ता गर्नुभएपछि व्यावस्थापिका र न्यायपालिकाबीच विवाद बढ्दै गएको छ ।