काठमाडौं, २९ फागुन ।
लामखुट्टेको टोकाइबाट सर्ने हात्तीपाइले रोग उन्मूलनका लागि आजबाट औषधि सेवन अभियान सुरु हुँदैछ ।
अभियान अन्तर्गत ३६ जिल्लाका एक करोड ३० लाख र्विसाधारणलाई औषधि खुवाइने इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
नेपालका ६१ जिल्लामा यो रोगको संक्रमण देखिएपछि सन् २००३ बाट औषधि सेवन कार्य सञ्चालन गरिएकामा २५ जिल्लामा औषधि खुवाउने कार्यक्रम सकिसकेको छ ।
बाँकी रहेका ३६ जिल्लामा आजदेखि तीन दिनसम्म निःशुल्क औषधि खुवाइने महाशाखाका निर्देशक डा.बाबुराम मरासिनीले बताउनु भयो ।
विश्वमा अपाङ्ग बनाउने कृष्ठरोगपछि सबैभन्दा ठूलो रोग मानिएको हात्तीपाइले रोगविरुद्ध गत वर्ष एक करोड ६८ लाख मानिसलाई यो रोगको औषधि खुवाइएको थियो । मरासिनीका अनुसार यो औषधि ६ चरणसम्म खानुपर्छ ।
आजदेखि भोजपुर, इलाम, झापा, धनकुटा, तेह्रथुम, ओखलढुङ्गा, पाँचथर, सप्तरी, सिरहा, ललितपुर, बाग्लुङ, म्याग्दी, पर्वत, लमजुङमा हात्तीपाइले रोगको औषधि खुवाइदैछ ।
यस्तै दाङ, रोल्पा, रुकुम, सल्यान, बाँके, बर्दिया, जाजरकोट, सुर्खेत, दैलेख, बैतडी, डडेलधुरा, डोटी, कैलाली, कञ्चनपुर, अछाम, बझाङ, बाजुरा, र दार्चुलामा पनि आम औषधि सेवन अभियान सञ्चालन हुँदैछ ।
अभियान सञ्चालनका लागि १३ हजार ७८ स्वास्थ्यकर्मी तथा ६५ हजार ६७८ स्वास्थ्य स्वयम्सेविका परिचालन गरिएको छ । हात्तीपाइले रोगको औषधि दुई वर्ष नपुगेका बालबालिका, गर्भवती तथा सात दिनसम्मका सुत्करी, छारे रोगी, सिकिस्त बिरामीले खान नहुने बताइएको छ ।