काठमाडौ २८ फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चैत्र ७ गतेबाट हुने भ्रमणका लागि चीनले भव्य तयारी सुरु गरेको छ । प्रधानमन्त्री ओलीसहित उहाँको भ्रमण टोलीलाई लिन चीनले विशेष विमान पठाउने भएको छ ।
विमान कत्रो पठाउने भन्ने सम्बन्धमा भने प्रधानमन्त्रीको भ्रमण टोलीको संख्या टुंगो लाग्न बाँकी रहेकाले नेपालले यस विषयमा जवाफ पठाइसकेको छैन ।
चीनले पठाएको विमान चढ्ने कि आफ्नै राष्ट्रिय ध्वजावाहक विमान चढ्ने भन्ने सम्बन्धमा पनि टुंगो लाग्न बाँकी रहेको परराष्ट्रमन्त्रालय स्रोतले जनाएको छ ।
यसअघि प्रधानमन्त्री ओली नेपाल वायु सेवा निगमको विमानमा भारत जानुभएको थियो । तर चीनले बढी चासो दिएकाले उसले पठाएकै विशेष विमानमा जाने प्रधानमन्त्रीको तयारी छ ।
भारतमा जस्तै प्रधानमन्त्री चीन भ्रमणलाई पनि महत्वको साथ हेरिएको छ । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा पारवहन लगायत अरु महत्वपूर्ण विषयमा सम्झौता गर्ने तयारी छ ।