रत्ननगरमा नमुना सडक निर्माण थालियो

रत्ननगरमा नमुना सडक निर्माण थालियो

  • बुधबार, फाल्गुन २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

चितवन, २६ फागुन ।

पूर्व पश्चिम राजमार्गको स्तरोन्नति गर्ने कार्यक्रमअन्तर्गत रत्ननगरको टाँडी बजारमा नमुना सडकको निर्माण थालिएको छ ।

रत्ननगरको टाँडीबजारमा निर्माण गर्न सुरु गरिएको चार लेन सडक एक वर्षभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । रत्ननगरको निपनीदेखि लौरीघोलसम्मको दुई किलोमिटर ३०० मिटर लामो उक्त सडक निर्माणको जिम्मा डिभिजन सडक कार्यालय भरतपुरले १९ करोड रुपैयाँको लागतमा ठेक्कामार्फत श्रेष्ठ कन्सट्रक्सन प्रालि हेटौँडालाई दिएको हो ।

सो कम्पनीले एक वर्ष तीन महिनामा काम सम्पन्न गर्ने गरी सडक डिभिजन कार्यालय भरतपुरसँग ठेक्का सम्झौता गरेको छ । कम्पनीले गत माघ १० गतेदेखि निर्माणको काम सुरु गरेको छ । सडक निर्माणका लागि चितवन क्षेत्र नं २ का सांसद शेषनाथ अधिकारी संयोजक रहेको ५७ सदस्यीय सडक निर्माण उपभोक्ता समिति बनाइएको छ । पुरानो ढललाई भत्काएर नयाँ तथा गुणस्तरीय ढल निर्माण र होचो ठाउँमा पर्खाल निर्माणको काम भइरहेको श्रेष्ठ कन्सट्रक्सन प्रालिका सबइन्जिनियर दीपेन्द्र खातीले जानकारी दिनुभयो ।

अहिले चार लेन सडकअन्तर्गत सौराहाचोक र टाँडी बजार जोड्ने पुलनजिक कल्भर्ट निर्माणको काम भइरहेको उहाँले बताउनुभयो । ढल र पर्खाल निर्माणको काम दुई महिनामा सकेर अन्य काम गर्ने योजना रहेको छ । ढल र पर्खाल निर्माणको काम सकिएपछि मूल सडक भत्काएर माटोको सतह मिलाउने (सबग्रेट) काम सुरु हुने उहाँले बताउनुभयो । त्यसपछि सडकमा मिश्रण गिट्टी हाल्ने काम गरिने सबइन्जिनियर खातीले बताउनुभयो ।

गत मङ्सिरदेखि सडक निर्माणको काम सुरु गर्ने योजना रहे पनि नाकाबन्दीका कारण इन्धन असहज भएकाले निर्माण कार्य तीन महिना ढिलो भएको थियो । ढिलो भएको समयलाई पूर्ति गर्ने गरी कामलाई तीव्रता दिइएको खातीले बताउनुभयो । रत्ननगरको निपनीदेखि लौरीघोलसम्म सरकारले राष्ट्रिय आयोजनाअन्तर्गत टाँडी बजारमा पहिलोपटक चार लेन सडक निर्माण गर्न लागेको हो ।

सो सडकमा रफ्तार र ढिलो गरी आवात–जावतका लागि फरक फरक बाटा हुनेछन् भने पैदल यात्रुका लागि छुट्टै बाटो हुनेछ । सडकको बीचमा बगैँचा र सोलार बत्ती जडान गरिनेछ ।

यो ठेक्कामा सोलार बत्ती नपरेको भए पनि पछि सोलार बत्ती र अन्य आवश्यक पूर्वाधार निर्माण हुने बताउनुभयो । यात्रु प्रतीक्षालय, जेब्राक्रस लगायतका सुविधा उक्त सडक क्षेत्रमा हुनेछन् । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख इन्जिनियर मुकुन्दराज अधिकारीले पूर्वपश्चिम राजमार्ग स्तरोन्नति गर्ने कार्यक्रमअन्तर्गत नमुनाका रुपमा टाँडीको सडक निर्माण हुने बताउनुभयो । नेपाल सरकारले पूर्वपश्चिम राजमार्गलाई ५० मिटर चौडा गरी स्तरोन्नति गर्ने कार्य अगाडि बढाएको छ । सो सडक ५० मिटर फराकिलो हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ