काठमाडौँ, २६ फागुन ।
नेपालमा बसोबास गर्ने शेर्पा समुदायले आज ग्याल्पो ल्होसार पर्ब मनाउदै छन । शेर्पा समुदायले आज बिभिन्न कार्यक्रम गरी ल्होसार पर्ब मनाउने गर्दछन ।
ल्होसारको अबसरमा राष्ट्रपति विद्यादेवी भण्डारी,उपराष्ट्रपति नन्दबहादुर पुन ,प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले शुभकामना दिनुभएको छ ।
राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण शेर्पा समुदायको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि शुभकामना दिनुभएको छ ।
उहाले विश्व पर्वतारोहणको इतिहासमा अनेकौँ कीर्तिमान कायम गरेर संसारभरि नेपालको गौरव फैलाउने शेर्पा समुदायको यस महान् पर्वले सबै नेपालीमा नयाँ उमङ्गसहित हर्षोल्लास र शान्तिको सन्देश फैलाइ एकता, सद्भाव, मित्रता, मेलमिलाप र सहिष्णुतालाई अक्षुण राख्न सकोस् भन्ने शुभकामना दिनुभएको छ ।
प्रधानमन्त्री ओलीले सम्पूर्ण शेर्पा समुदायमा यो पर्बले नयाँ उत्साह, उमङ्ग र हौसला प्रदान गरोस् र शेर्पा समुदाय र अन्य समुदायका नेपालीबीच एकआपसमा भाइचारा र घनिष्ठता अभिवृद्धि गर्नमा सहयोग पु¥याओस् भन्ने शुभकाना दिनुभएको छ ।
यस्तै शुभकामना सन्देश दिदै उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गर्नुभएको छ ।
संविधानसभाबाट निर्मित संविधान कार्यान्वयन र समृद्ध नेपाल निर्माणका लागि सम्पूर्ण नेपालीबीचको हातेमालोको खाँचो पूरा गर्न ग्याल्पो ल्होसारले आपसी मेलमिलापको वातावरणसमेत सिर्जना गर्ने उपराष्ट्रपति पुनको बिश्वास छ । पर्बका अबसरमा सरकारले आज सार्बजनिक बिदा पनि दिएको छ ।