काठमाण्डौ, २५ फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राष्ट्रपति यादवको आवासको समस्या तत्काल समाधान गर्न निर्देशन दिनुभएको छ ।
सञ्चारमाध्यमबाट लगातार पूर्व राष्ट्रपतिको अपमान हुने गरि सरकारले आवासको प्रबन्ध गर्न नसकेको भनेर आलोचना भइरहेको भन्दै ओलीले यसबारेमा बुझ्न आफ्ना प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी र प्रेस संयोजक चेतन अधिकारीलाई बागडोल पठाउनुभएको छ ।
प्रधानमन्त्रीका प्रेस संयोजक अधिकारीका अनुसार यादवले आफ्नो आवासमा विजुली र खानेपानीकोसमेत ब्यवस्था नभएको गुनासो गर्नुभयो । बिजुली नभएको र छिमेकीको घरबाट ल्याएको विजुली पनि सिंगल फेजको भएकाले फ्युज जलिरहने हैरानी व्यहोर्नु परेको गुनासो गर्नु भयो ।
त्यस्तै कम्पाउण्ड वाल नभएको र सचिवालयको व्यवस्था पनि नगरिदिएको यादवको गुनासो छ । त्यस्तै उहाँका स्वकीय सचिव सञ्जेस ठाकुरका अनुसार यादवले आफू राष्ट्रपति हुँदा सुरु गरेको चुरे संरक्षण अभियानमै सक्रिय हुन चाहनु भएको छ ।