२५ फागुन / तपाईँ हामीले चलचित्रमा र टेलिभिजनमा डोल्मा नामाबट चिनेकी ह्येल्मुको बास्तविक नामा डोमा ह्येल्मु हो । उनलाई बच्चादेखि बुढासम्म सबैले चिन्छन् । तर, उनी यहाँसम्म आईपुग्न कस्तो संघर्ष गर्नुपर्यो सबैलाई थाहा नहुँन सक्छ । सिन्धुपाल्चोकबाट पैसा कमाउन काठमाडौँ छिरेकी डोमाले जीवन गुजराको गलैँचा बुन्नु पर्यो । रातको एक बजेसम्म गलैंचा बनेर जीवन गुजरा गरेकी डोमाका होतमा लागेका घाउहरु अहिले पनि आलै छन् ।
गाउँमा छोरीलाई पठाउँनु हुँदैन भन्ने मान्यताका विरुद्ध उनीले लुकेर दुई हप्ता विद्यालय जान भ्याइन । उनको औपचारिक शिक्षा त्यतिमात्र हो ।
अंग्रेजी भाषा फरर बोल्न सक्ने डोमा भन्छन्, ‘जीवन चक्रजस्तै नै रहेछ, दुःखबाट सुख अनि सुखबाट दुःख ।’ उनै डोल्मा अर्थात डोमा ह्येल्मुको जीवन संघर्षबारे मिर्मिरेका लागि नवराज कुँवरले तयार पारेको सामाग्री ।
मेरो जन्म वि.संं.२०२० सालमा सिन्धुपाल्चोकको विकट हेलम्बु गाउँमा भएको हो । मेरो बुबा निम्न आर्थिक अवस्थाको हुनुहुन्थ्यो । उहाँ किसानी, गाईबस्तु गोठालो गर्ने गर्नुहुन्थ्यो । आमा खेतबारीमै काम गर्नुहुन्थ्यो । मेरो बाल्यकाल एकदमै दुःखपूर्ण बिल्यो । हुन् त बुबाआमा नै दुःखमा हुनुहुन्थ्यो, मैले के सुख पाउनु । अझ म त छोरीका रुपमा जन्मिएकी थिएँ । अहिले पो अधिकारहरु सुनिश्चितको कुरा आएका छन् । तर, त्यो बेला महिलालाई दोस्रो दर्जामै राखेर हेरिन्थ्यो विशेष गरि गाउँमा ।
लाजसम्म ढाक्ने एउटा जामा हुन्थ्यो । पर्याप्त कपडाहरु नभएका कारण त्यही एउटा जामा मैलिएर कालोमैलो भईन्जेल लगाउनु पथ्र्यो । फेरि गाउँको काम पनि त्यस्तै त हो । घाँस काट्न जङ्गल जानुपर्ने, बस्तु चराउन गोठालो जानुपथ्र्यो । घरको चुलोचौको पनि गर्नुपर्ने । गाउँमा रहुन्जेल चप्पल कहिले लगाउन पाइएन । बुबाआमा किसान भएकाले पैसाको चरम संकट हुन्थ्यो । खाने कुरा बारीमै हुने भएकोले खानको भने त्यत्रो दुःख बेहोर्नु परेन । अरु दुःखहरुको त कुरै नगरौँ, नभोगेको दुख के छ र ?
मलाई विद्यालय पढ्न जान खुब मन लाग्थ्यो । तर, त्यतिबेला छोरी मान्छेले पढेर के गर्ने भन्थे । त्यसैले मेरो त्यो चाहाना मारेर घाँस दाउरा गर्नुको विकल्प मसँग थिएन तर म नौ वर्षको हुँदा दुई हप्ता भागेर स्कुल गएको थिएँ । त्यतिबेला गाउँको पल्लो छेउमा शेरपाथाङ भन्ने स्कुल थियो । घरको काम सकेर म लुकेर त्यो स्कूल जान्थे । त्यो विचमा त्यहाँ भएका केही सांस्कृतिक कार्यक्रमहरुमा म नाच्न पनि भ्याएँ । म नाचेको देखेर ‘कस्तो लाजपचेकी रहीछ, यत्रो मान्छेको अगाडि नाचेकी हेर’ गाउँलेहरुले भन्थे ।
सानामा म अलि चञ्चले र चकचके थिएँ । घरको काममा अलिअलि ठग्थेँ पनि । डोको लिएर पत्ता सोर्न जाँदा पनि कम अटाउने लिएर जान्थें । आलु रोप्दा निदाउँथे । आमाले गाली पनि गर्नुहुन्थ्यो । गाईबस्तु चराउन जाँदा गाईबस्तु छाडेर साथीहरुसँग गट्टी खेलेर बस्थेँ, उता गाईबस्तुले अरुको बाली खाइसकेका हुन्थे ।
बुबाआमा गरिब भएकाले हामीलाई गाउँमा एकदमै दुःख हुनथाल्यो । गरिबी झनझन बढिरहेको थियो । त्यसैले म १३ वर्षको उमेर हुँदा घरको दुःख टार्न शहर पुगे केही कमाउने विचार गरेँ । त्यसपछि ३ जना अरु साथीहसँग कुरा मिलाएँ । अनिपत्ता सोर्न जाने भनेर डोको बोकेर त्यसमा अलिकति भुटेको मकै र मूला बोकेँ । अनि एउटा पुरानो जामा थियो त्यो पनि हालेर एकाबिहानै सुटुक्क भाग्यौँ । हेलम्बुबाट करिब ३ घण्टा हिडेर सेले गाउँ पुगेका थियौँ । त्यहाँ पुगेपछि बुबाले समाति हाल्नुभयो । तर, मलाई बुबाले कहिले पिट्नु भएन । आमा केहीबेर रिसाउनु भयो । काठमाडौँ छिर्न असफल भएपछि म गाउँमा दाउरा घाँस गरेर बसेँ ।
एकवर्ष गाउँमा बसेपछि म १४ वर्षको उमेरमा घरकै सल्लाहमा पैसा कमाउन भनेर काठमाडौँ आएँ । गाउँमा पैसा कमाउन मन लाग्थ्यो तर त्यो पैसा के गर्ने भन्नेमा चाहिँ त्यत्रो ठूलो योजना हुन्नथ्यो । पैसा कमाएर अलि राम्रो लगाउँला, मिठो खाउँला भन्ने सोच काठमाडौँ आएपछि मात्र आयो । गाउँमा हुँदा त के थाहा, मान्छेले कस्तो–कस्तो लगाउँछन् ? सबैभन्दा मीठो कुरा के हुन्छ ?आफुले भोगेको जीवनभन्दा अरु जीवन र युगबारे केही थाहा थिएन ।
काठमाडौँमा मेरो कान्छा काकाहुनुहुन्थ्यो । निकै धनिहुनुहुन्थ्यो ।उहाँको गलैचा कारखानाथियो ।१४ वर्षको उमेरमा म काठमाडौँ आएपछि काकाकै कारखानामा काम गर्न थालेँ । आफ्नै काकाको त्यत्रो कारखानाभएपनिदाजुको छोरी भनेर आफैसंग पनि राख्नुभएन । अरु काम गर्ने केटीहरुसँगै बस् भन्नुभयो र म तीनै साथीहरुसँग बसेँ । अरुजस्तै खटिएर काम गर्थेँ ।
सायद काकाले त्यति नगर्देको भए मैले थप दुःखबाट पाठ सिक्ने पनि थिइन कि । त्यो बेला काठमाडौँको बसाई निकै दुःखपूर्ण थियो । १७ जनाकाम गर्ने साथीहरु थियौँ । एउटै कोठामा ७ जनासम्म सुत्थ्यौँ । हामी चाबहीलमा बस्थ्यौँ । गलैँचा बुनेर दिनको १५ रुपैयाँ कमाउथे । खानेकुरा खान मन लागेको बेलागलैँचाको काम गरिसकेर काकाले १५ रुपैयाँ दिनुहुन्थ्यो, अनि त्यसैले किनेर खाइन्थ्यो ।
त्यहाँ दुईवर्ष काम गरेपछि अझै पैसा कमाउने विचार गरेर परिवारको सल्लाहमा म साथीहरुसहित भारतकाे जम्मुकाश्मिर पुगेँ । तर त्यहाँपुगेपछि त थाहा भयो हाम्रो लागि त गलैंचाको काम नै राम्रो थियो । त्यहाँ हामीले झाँडु लगाउने काम गर्यौँ । दिनभरि सडकमा झाडु लगाउने काम गर्नु पर्थ्यो । झन् धेरै दुःख खेप्नुपर्यो त्यहाँ ।
दुःख भएपनि मेरो जीवनमा कान्छा लामा आए । हेलम्बुनै घर भएका कान्छा त्यहाँ बस्दा रहेछन् । उनी हामीलाई काम लगाउँथे । सुपरभाइजर थिए । उनले मलाई मन पराएका रहेछन् । अनिबुवासँग कुरा गरेछन् । बुवाले पनि मलाई १६ वर्षको उमेरमाउनै कान्छासँग विहे गरिदिनुभयो । विवाहपछि त्यहाँ ६ महिना बसिसकेपछि बुढासँग म पनि गाउँफर्केँ । तर घर फर्केको केही समयपछि नै धन कमाउने भन्दै कान्छा काठमाडौँ हिँडे । अनिएक्लै भएँ ।
दुःख भएपनि घरमा पुलपुलिएर हुर्केकी थिएँ म । कान्छा हिँडेपछि म त्यहाँ एक्लो थिएँ । माटोको काम गर्नुपथ्र्यो । सार्है दुःख पाएँ । ससुरा दोश्री श्रीमतिकहाँ बस्थे । सासुचाही जेठो छोरासँग बस्थिन् । घरको अलि मास्तिर मरेका मानिसकाे गाड्ने चिहान थियो । म रातभर डरले सुत्न सक्दिन थिएँ । म सानै उमेरको भएर होला मलाई सार्है डर लाग्थ्यो । त्यतिबेलै छोरा पनि जन्मियो ।
अब छोरा पनि हेर्नुपर्ने भएपछि कामको बोझअझै धेरै थपियो । त्यहाँको दुःखभन्दा राती १ बजेसम्म भएपनि काठमाडौँमा गलैँचा बुन्नुनै मलाई उचित लाग्यो । कान्छा फर्केर नआएकाले छोरा ६ महिनाको हुँदा डोकोमा केही खानेकुरा, लुगा र त्यसमाथी छोरालाई राखेर म काठमाडौँ आएँ । फेरि गलैँचा बुन्ने काम नै गर्न थालेँ । केही समय काम गरेपछि कान्छा पनि बौद्धमै मिस्त्री काम गर्दारहेछन् । हाम्रो भेटभयो । अनिसँगै बस्न थालियो । काकाले गरिखानु भनेर १० हजार ऋण दिनुभयो । त्यही पैसाले हामी आफैले कारखाना खोल्यौँ ।
त्यसपछि मेरा अरु ३ वटी छोरीहरु भए । ४ जना छोराछोरी भईसकेपछि विगतदेखिनै कान्छासँगको धमिलो सम्बन्ध अन्ततः टुंगियो । हामी छुट्टियौँ । म अझै दुःख गरेरै भएपनि आफ्ना सन्तानका लागि खट्न थालेँ । आफुले नपढेपनि आफ्ना छोराछोरीलाई शिक्षित बनाउन म मेहनगर्न थालेँ । राती १ बजेसम्म गलैँचामा काम गर्थेँ । अनि बिहान ५ बजे उठेर बच्चाहरुलाई खानाखुवाउने, लुगा धुनेलगायतका काम गर्थेँ । त्यतिबेला म रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रम फुलबारीमा गीत गाउन पनि गएँ । मेरो स्वर राम्रो थियो । पछि नेपाल टेलिभिजनमा पनि आफ्नो संस्कृति झल्काउने गीत गाउँने अवसर पाएँ । अलिअलि गर्दै म कलाकारितामा प्रवेश गरेँ ।
संघर्ष गरे के हुँदैन रहेछ र ?जीवन एउटा चुनौति नै रहेछ । यसको सामनागर्न सक्नेले नै जितहाँसिलगर्ने रहेछन् । हुन त मैले पूर्ण रुपमाजीवनलाई जितेको छु भन्दिन । तर संघर्षका ठूलाठूला पहाड छिचोलेर म आजजीवनको निकट छु । जीवनको अर्थ केहीहदसम्म बुझेकी छु । त्यसैले सामान्य चुनौतिसँग डराउँदिन पनि । अहिले मेरो छोरा अध्ययन सकेर क्यानाडामा बस्छ । एउटी छोरी अमेरीकामा, अर्कीजर्मनमा बस्छिन् । कान्छी चाहिँ छोरी मसँगै बस्छिन् । उनले पनि नर्सिङ गरेकी छन् । मैले पनि अमेरीका, जर्मन, बेलायत, क्यानाडा, जापान, थाइल्याण्डलगायतका देशहरुको पटक पटक भ्रमण गरिसकेँ । तर मलाई नेपाली संस्कृति र भूमिजस्तो स्वर्गिय कुनै पनि देशकाे लागेन । म आफ्नै देशमा बस्छु र यही मर्न चाहान्छु ।
जोरपाटीमा बस्नको लागि एउटा घर बनाएको छु । हिजो के लाउँ के खाउँ थियो । तर समयले घुमायो, आज मेरा पनि दिन आयो । म धनि पनि छैन, के लाउँ के खाउँको अवस्थामा पनि छैन । तर आज कतिपय सामाजिक संघसंस्थाहरुलाई आर्थिक, नैतिक सहयता गर्ने गरेको छु । म आफ्नो दुःख सम्झन्छु र अरु दुःखपाएकाहरुलाई सहयोग गर्छु ।