काठमाडौ २५ फागुन ।
आज एक सय ६ औं अन्तराष्ट्रिय नारी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदैछ । महिला अधिकारका क्षेत्रमा काम गर्दै आएका संघसंस्थाले आज विविध कार्यक्रमको आयाोजना गरिएको छ ।
दिवसको यस वर्षको नारा लैंगिक समानताका लागि पाइला हाराहारीः सन् २०३० सम्ममा हिस्सा बराबरी भन्ने तय गरिएको छ । हरेक मार्च ८ तारीखमा विश्वभर यो दिवस मनाइन्छ ।
सन् १९१० मा डेनमार्कको कोपनहेगनमा भएको समाजवादी श्रमिक महिलाहरुको दोस्रो सम्मेलनपछि हरेक वर्ष मार्च ८ लाई अन्तर्राष्ट्रिय नारी दिवसको रुपमा मनाउन थालिएको हो ।
यसैबीच दिवसका अवसरमा राष्ट्रपति तथा प्रधानमन्त्रीले शुभाकामना व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति विद्यदेवी भण्डारीले संसरभरीका सबै दिदीबहिनीमा लैंगिक समानता, महिला सशक्तीकरण र महिला मानवअधिकारको सुनिश्चितताको कामना गर्दै सुख, शान्ति, समृद्धि सुस्वास्थ्य र उत्तरोतर प्रगतिको कमना गर्नु भएको छ ।
उहाँले महिलाको विद्यमान अवस्थालाई उठाउनका लागि समावेशीकरण, सशक्तीकरण, मूलप्रवाहीकरण, क्षमता विकास, सुरक्षा र संरक्षण जस्ता आयामलाई एकिकृत रुपमा अगाडि बढाउन आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले महिला विरुद्ध हुने हिंसा अन्त्यका लागि सरकारले अख्तियार गरेको शुन्य सहनशीलतामा एक भएर लाग्न सबैमा अह्वान गर्नु भएको छ ।
दिवसका अवसरमा दिनु भएको शुभाकमना सन्देशमा उहाँले महिला मुद्धामा अझ प्रभावकारी रुपमा अघि बढ्न नयाँ संविधानले महिला आयोगलाई संवैधानिक मान्यता प्रदान गरेको उल्लेख गर्नुभएको छ ।