काठमाडौँ, २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारले अख्तियार गरेको शून्य सहनशीलताको नीति तथा महिला सशक्तीकरण गर्ने सरकारको अभियानमा सबैलाई एक भएर लाग्न आह्वान गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले १०६औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै नेपालको संविधानले महिलाको प्रजनन स्वास्थ्य तथा हिंसा एवम् विभेदविरुद्धको एकताको मौलिक हकका रुपमा प्रत्याभूत गरेको उल्लेख गर्नुभएको छ ।
सन्देशमा लैङ्गिक समानता, महिला सशक्तीकरण तथा महिलासँग सम्बन्धित कानुनी व्यवस्थाको अध्ययन अनुसन्धान गरी त्यस्तो कानुनमा सुधारका सम्बन्धमा सम्बन्धित निकायलाई सुझाव दिइने उल्लेख छ ।
अन्तर्राष्ट्रिय महासन्धिहरूमा गरिएको प्रतिबद्धतानुसार नेपाल सरकार महिलाकेन्द्रित नीति, कानुन, योजना, संरचना तथा कार्यक्रम निर्माण गरी उपलब्ध स्रोत तथा साधनको अधिकतम प्रयोग गरेर महिलाको जीवनस्तर माथि उठाई एउटा सन्तुलित, समुन्नरत र सुखी समाज निर्माण गर्न प्रयासरत रहेको सन्देशमा उल्लेख छ ।
महिला सशक्तीकरणका लागि नेपाल सरकारका प्रयासलाई अझ सशक्त पार्न यस क्षेत्रमा कार्यरत सबै सरकारी, गैरसरकारी, निजीक्षेत्र तथा नागरिक समाजलाई आआफ्नो स्थानबाट योगदान पु¥याउन प्रधानमन्त्रीले आह्वान गर्नुभएको छ ।