काठमाण्डौ ,२५ फागुन ।
नेपाली कांग्रेसको सभापति पदमा शेरबहादुर देउवा निर्वा्चित हुनुभएको छ । कार्यवाहक सभापति रामचन्द्र पौडेललाई ५२६ मतले पछि पार्दै देउवा काग्रेसको १३औं महाधिवेशनबाट पार्टीको नवौं सभापतिमा निर्वाचित बन्नुभयो ।
राजधानीको राष्ट्रिय सभागृहमा भएको दोस्रो चरणको निर्वाचनमा देउवाले १८२२ मत प्राप्त गर्नुभयो भने उहाका निकटतम प्रतिद्वन्द्वी पौडेलको १२९६ मत छ ।
आइतबार भएको निर्वाचनमा पार्टी विधानको व्यवस्थाअनुसार ५० प्रतिशतभन्दा बढी मत कुनै पनि उम्मेदवारले नपाएपछि सोमबार पुनः निर्वाचन भएको हो ।
बिहीबारदेखि जारी महाधिवेशनअन्तर्गत नेतृत्व छनोटका लागि सोमबार पुनः भएको निर्वाचनमा आइतबारभन्दा २८ भोट कम अर्थात् ३ हजार १ सय २० महाधिवेशन प्रतिनिधिले मतदान गरेका थिए । आइतबार भएको निर्वाचनमा ३ हजार १सय ४८ महाधिवेशन प्रतिनिधि नेतृत्व चयनमा सहभागी थिए ।
पूर्वनिर्धारित निर्वाचन कार्यातालिकाभन्दा झन्डै एक घन्टा ढिला गरी सुरु भएको निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न पौडेल र देउवा आइतबारजस्तै सोमबार पनि महाधिवेशन प्रतिनिधि फकाउन निर्वाचन स्थल राष्ट्रिय सभा गृहमा सक्रिय थिए । आफ्नो स्थिति मजबुत बनाउन पौडेलले नेता प्रकाशमान सिंह, शशांक कोइराला, शेखर कोइराला, सुजाता कोइराला, रामशरण महतसहितका नेतालाई साथै लिएर महाधिवेशन प्रतिनिधिसँग भोट मागिरहेका थिए ।
पहिलो चरणमा ११ मतले नतिजा आफ्नो पक्षमा पार्न असफल भएका देउवा सोमबार भएको निर्वाचनमा साँझसम्म पनि लाइनमा बसेर भोट मागिरहनुभएको थियो । उहालाई नेता विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की, सुरेन्द्र पाण्डे, प्रकाशशरण महतसहितले साथ दिएका थिए ।
देउवाभन्दा ४ सय मत कम पाएका पौडेलले सभापतिको दोस्रो चरणको निर्वाचनबाट बाहिरिएका महामन्त्री कृष्णप्रसाद सिटौलालाई घरमै पुगेर सहयोग माग्नु भएको थियो । सिटौलाले निकटहरुसँग सल्लाह गरेर निर्णय दिने आश्वासनसहित पौडेललाई बिदा गर्नुभएको थियो ।
महामन्त्रीका प्रत्याशी शशांक कोइरालासहितका नेतालाई साथै लिएर पौडेलले देउवा निकट नेता खुमबहादुर खड्कासँग भेटेर सहयोग माग्नुभयो ।
त्यसलगत्तै ४१ जिल्ला सभापतिले पौडेलको पक्षमा मतदान गर्न आग्रह गरेका थिए । उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी, लोकतन्त्र, राष्ट्र एवं अग्रगमनका लागि पौडेलको जित आवश्यक रहेको उल्लेख गरेका थिए ।
त्यस्तै, पार्टी वरिष्ठ नेता देउवाले दोस्रो चरणको निर्वाचनबाट बाहिरिएका सभापतिका प्रत्याशी सिटौलालाई निवासमै पुगेर सहयोग माग्नुभएको थियो । सिटौलाले दोस्रो चरणको निर्वाचनमा देउवालाई सहयोग गर्ने आश्वासन दिएको देउवा निकट स्रोतको दाबी छ । तर, सिटौला दोस्रो चरणको निर्वाचन पौडेल र देउवा दुवैको पक्षमा खुल्नुभएन ।