काठमाडौँ, २४ फागुन ।
नेपाली कांग्रेसको सभापति पदका लागि दोस्रो चरणको निर्वाचन हुदैछ । दोस्रो चरणमा आज दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । राजधानीको सभागृहमा हिजो सम्पन्न निर्वाचनमा सभापतिका तीनै प्रत्यसीले बहुमत ल्याउन नसकेपछि आज दोस्रो चरणको निर्वाचन हुन लागेको हो ।
पहिलो चरणको मतदानको मतगणना सकिँदा सभापतिका उम्मेदवार शेरबहादुर देउवालाई बहुमतको लागि ११ मत अपुग भएको छ । देउवाले कुल १५ सय ६४ मत प्राप्त गर्नुभएको थियो । यस्तै रामचन्द्र पौडेलले ११ सय ६० मत ल्याउनु भएको छ ।
यसैगरी सभापतिका अर्का प्रत्यसी कृष्ण सिटौलाले ३ सय २४ मत प्राप्त गर्नुभएको छ । आज हुने दोस्रो चरणको निर्वाचनमा देउवा र पौडेलबिच प्रतिस्पर्धा हुनेछ । सिटौला भने प्रतिस्पर्धाबाट बाहिरिनु भएको छ ।
कांग्रेस विधान अनुसार पहिलो चरणको निर्वाचनमा कुनैपनि उमेदवारले बहुमत ल्याउन नसकेमा धेरै मत ल्याउने दुईजनाबिच पुनः निर्वाचन गर्र्नुुपर्ने व्यवस्था छ । सिटौला प्रतिष्पर्धाबाट बाहिरिनु भएसँगै उहाँ र उहाँको प्यानलको मत अब निर्णायक देखिएको छ ।
यसैबीच सभापति पदका लागि आज हुने दोस्रो चरणको निर्वाचन सकिएपछिमात्र महामन्त्रीसहितका अन्य पदहरुका लागि भएको निर्वाचनको मतगणना सुरु हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ ।