सेना दिवस आज , टुँडिखेलमा विशेष समारोह

सेना दिवस आज , टुँडिखेलमा विशेष समारोह

  • सोमवार, फाल्गुन २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौँ, २४ फागुन ।

नेपाली सेनाले आज (सोमबार) मुलुकभर ‘सेना दिवस’ मनाउदैँछ । सेना दिवसको अवसरमा आज बिहान ११ बजे सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना हुदैछ ।

सैनिक मुख्यालय जङ्गी अड्डाद्वारा आयोजना हुने उक्त विशेष समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिको रुपमा सहभागी हुनुुहुनेछ ।

नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसको रूपमा मनाउँदै आएको छ । सैनिक मञ्च टुँडिखेलमा शिवरात्रि परेड तथा तोप, बढाइँ, कवाज, आतसबाजीलगायत विविध कार्यक्रम हुनेछन् ।

जङ्गी अड्डा मातहत मुलुकका विभिन्न भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा समेत सेना दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिनेछ ।

नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा नेपाली सेनाले उदाहरणीय र कीर्तिमानी काम गर्दै आएको छ । नेपाली सेनाकै वीरताका कारण विगतमा अङ्ग्रेजको दबदबा रहेको अवस्थामा समेत दक्षिण एसियामा नेपाल मात्र उपनिवेश हुनबाट जोगिएको थियो ।

वर्तमान नेपाली सेनाको साङ्गठनिक स्वरूपको सुरुवात १८१९ सालदेखि भएको र अहिले नेपाली सेनाको जनशक्ति करिब ९५ हजार छ ।  सङ्गठनको प्रमुखमा अहिले प्रधानसेनापति राजेन्द्र क्षत्री हुनुहुन्छ ।

संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यमा नेपाली सेनाको सहभागिता सन् १९५८ बाट सुरु भएकोमा हालसम्म एक लाख १० हजार ७७६ जनशक्तिबाट योगदान भइसकेको छ । विश्वका कतिपय द्वन्द्वग्रस्त मुलुकमा शान्ति कायम गर्ने क्रममा नेपाली सेनाका ६३ जनाले वीरगति पाउनुका साथै ५९ जना गम्भीर घाइते भएका छन् ।

नेपाली सेनाका चार हजार २०० फौज विश्वभरका १५ वटा संयुक्त राष्ट्रसङ्घीय मिसनमा शान्ति स्थापनार्थ हाल परिचालित छन् । शान्ति स्थापनाका लागि सेना खटाउने मुलुकहरूको कोटीमा नेपाल अग्रणी स्थानमा रहेको छ ।

पछिल्लो समय छिमेकी राष्ट्रका सेनाको साथसाथै विश्वका अत्यन्त शक्तिशाली मुलुकका लागिसमेत पेसागत क्षमता र दक्षता अभिवृद्धिको केन्द्रसमेत नेपाल बन्दै गएको छ ।

पछिल्ला वर्षहरूमा विपद् व्यवस्थापन र विकास निर्माणका कार्यमा समेत प्रमुख सुरक्षा अङ्गको रूपमा नेपाली सेनाले महत्वपूर्ण काम गर्दै आएको छ ।

राष्ट्रिय सुरक्षा, महत्वपूर्ण संरचना र भौतिक पूर्वाधार र प्राकृतिक सम्पदाको सुरक्षा, विकास निर्माणको जिम्मेवारीसँगै नागरिकसँगको सम्बन्धलाई बलियो बनाउने तथा मानवाधिकारको विश्वव्यापी मान्यतालाई आत्मसात गर्ने कार्यलाई नेपाली सेनाले प्राथमिकतामा राखेर काम गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ