काठमाण्डौ,२३ फागुन ।
नेपाली कंग्रेसको १३ औं महाधिवेशनमा अन्तगर्त नया नेतृत्वको चयनका लागि जारी मतदान बेलुकी ७ बजेसम्म हुने देखिएको छ । सभापतिसहितको ६४ पदका लागि जारी मतदान बिहान ढिलागरी सुरु भएका कारण बेलुकी ७ बजेसम्म जारी रहने देखिएको हो ।
राजधानीको राष्ट्रिय सभागृहमा जारी मतदानमा ५ बजेसम्म २ हजार ५ सयको हाराहारीमा मत खसेको छ । निर्वाचन समितीले मतदान बिहान ८ बजेबाट सुरु भएर ४ बजे सकिने जनाएपनि मतदान ९ बजे तिर मात्र सुरु भएको थियो ।
निर्वाचन शुरु भए पहिलो लगत्तै मतदान गर्दै सभापतिका प्रत्याशी शेरबहादुर देउवाले आफ्नो जीत सुनिश्चित भएको दावी गर्नुभयो । अर्का प्रत्यासी राजचन्द्र पौडेलले आफुले बिजयी हुने दाबी गर्नुभयो ।
यस्तै सभापतिका अर्का प्रत्यासी कृष्णप्रसाद सिटौलाले भने निर्वाचनपछि मिश्रित परिणाम आउने भन्दै कसैको पनि हार नभई सवैको जीत हुने गरि नतिजा आउने प्रतिक्रिया दिनुभयो ।
मतदान सकिएको एकघन्टापछि सभापति पदको मतगणना सुरु गरिने तयारी भएको निर्वाचन समितिका सचिव प्रदीप पराजुलीले जानकारी दिनुभयो । निर्वाचनका लागी ९ वटा मतपेटिका तोकिएका छन ।
सभापति, महामन्त्री, कोषाध्यक्षसहित खुल्ला र आरक्षित पदमा छुट्टाछुट्टै ९ रङको मतपत्र तोकिएको निर्वाचन समितिका सचिव पराजुलीले बताउनुभयो । नयाँ नेतृत्व चयनका लागी ३ हजार १ सय ६१ महाधिवेसन प्रतिनीधि छन् ।
मतदान सकिए लगत्तै सभापति पदको मतगणना राष्ट्रिय सभागृहमा तुरुन्तै शुरु गरिएपनि अन्य पदको मतगणना भने सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा गरिने बताइएको छ ।
सभापतिमा कार्यवाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौलाले समूहसहित प्रतिस्पर्धी छन् ।
यस्तै महामन्त्रीमा शसांक कोइराला, अर्जुननरसिंह केसी र गगनकुमार थापा उम्मेदवार छन् भने कोषाध्यक्षमा वर्तमान कोषाध्यक्ष चित्रलेखा यादव, सिराहा कांग्रेसका निवर्तमान अध्यक्ष सीतादेवी यादव, पूर्वमन्त्री उमाकान्त चौधरी र नेता कृष्ण कार्की प्रतिस्पर्धामा छन ।
पहिलो चरणमा सभापतिको टुङ्गो लाग्न नसके भोली दोस्रो चरणको निर्वाचन हुनेछ । ६४ सदस्यीय केन्द्रीय समितिका लागी ३ सय १२ जना चुनावी प्रतिस्पर्धामा छन ।