भक्तपुर, २३ फागुन । यहाँका छ वटै नगरपालिकामा नक्सा स्वीकृतिबिना नै धमाधम घर बनाउने क्रम बढेको छ ।
विशेष गरी भक्तपुर र मध्यपुरथिमि नगरपालिकामा त्यस्तो घर निर्माण क्रम ह्वात्तै बढेको हो । सरकारले निर्धारण गरेको मापदण्डानुसार घर बनाउन नसकिने जनाउँदै धेरैजसो भूकम्पपीडितले भत्किएको घर पन्छाउँदै स्वीकृतिबिना पक्की तथा अस्थायी घर धमाधम बनाउन थालेका हुन् ।
भक्तपुर दूधपाटीबाट दरबारस्क्वायर जाने खौमा सडकदेखि सुकुल ढोका, दत्तात्रय लगायत नगरपालिकाभित्रका अधिकांश ठाउँमा फलामे थामसहितको पक्की घर बनाइँदैछ । यसरी धमाधम पक्की घर बन्न थाले पनि भक्तपुर नगरपालिकाले भने बेवास्ता गरेको छ । कतिपय पक्की घर बनाउनेहरुले सडकमा जोडेरै घर बनाएका छन् भने छाड्नुपर्ने न्यूनतम पाँच फिटसमेत छाडेका छैनन् ।
भूकम्पपीडितले भग्नावशेष हटाउँदै अस्थायी बसोबासको व्यवस्थाका लागि नक्सा स्वीकृत नगरे पनि पक्की घर निर्माणमा अनिवार्य नक्सा स्वीकृति लिनुपर्र्ने प्रावधान भए पनि सयौँ घर नक्साबिना नै बनेका छन् ।
नगरपालिकाले नक्सा स्वीकृति दिन ढिलाइ गरेकाले बाध्य भएर नक्सा स्वीकृत नगरी धमाधम घर बनाउन थालेको भक्तपुर नगरपालिकाका स्थानीय बासिन्दा रामेश्वर श्रेष्ठ बताउनुहुन्छ ।
सरकारले पुनःनिर्माणका लागि छिटो राहत रकम नदिएको र नगरपालिकाले मङ्सिरसम्म पनि नक्सा पास खुला नगरेपछि बाध्य भएर नक्सा स्वीकृत नगरी घर बनाउनुपरेको स्थानीयवासीको गुनासो छ । भक्तपुर नगरपालिका कार्यालयले भने अहिले नक्सा स्वीकृति दिने काम खुला गरिसकेको जानकारी दिँदै मापदण्ड विपरीत घर बनाएको पाइएमा भत्काइदिने जनाएको छ ।
मध्यपुरथिमि नगर क्षेत्रमा समेत नक्सा स्वीकृत नगरी घर बनाउने क्रम ह्वात्तै बढेको छ । भूकम्पले घर भत्काएका कारण बस्ने ठाउ ँसमेत नभएको र नक्सा स्वीकृति लिन अनेकौँ झमेला आइपर्ने भएकाले स्वीकृतिबिा नै घर बनाउन थालिएको मध्यपुर थिमिका राकेश श्रेष्ठले बताउनु भयो ।
भक्तपुरका अन्य चार नयाँ नगरपालिकामा न्यून रुपमा मात्रै नक्सा स्वीकृति लिन आउने गरेको नगरपालिका कार्यालयले जानकारी दिएका छन् । धेरैजसो घर नक्सा स्वीकृतिबिना बनिरहेको गुनासो आएको जनाएको छ । नक्सा स्वीकृत नगरी मापदण्ड विपरीत घर बनेको पाइएमा त्यस्ता घर कुनै पनि बेला भत्काउने नगरपालिका कार्यालयका प्रमुख बताउँछन् ।
अन्तलिङ्ेश्वर नगरपालिकाका कार्यकारी अधिकृत होतराज लम्साल त्यस्तो प्रवृत्ति देखिएको र बिनास्वीकृति घर नबनाउन सूचना जारी हुँदा हुँदै पनि अनुगमन गर्दा मापदण्डविपरीत भेटिएमा नियमानुसार कारवाही गरिने स्पष्ट गर्नु भयो ।