काठमाडौ २२ फागुन ।
काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरुले भोलीदेखि बिहान ७ बजेबाट नै तेल वितरण गर्ने भएको छ ।
तेल वितरण कार्य सहज पार्न गृह मन्त्रालयले आयल निगमलाई दिएको निर्देशन अनुसार भोलीबाट बिहान ७ बजेदेखि नै तेल वितरण गर्न लागेको हो ।
अब उपत्यकाका सबै पम्पले बिहान ७ बजेदेखि तेल वितरण थाल्ने निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिनुभयो । यसअनुसार सबै पम्पमा अघिल्लो दिन नै तेल र्पुयाइने छ ।
आयल निगमको थानकोट डिपोबाट रातिसम्म तेल दिँदा अनुगमनमा समस्या भएपछि अब बिहान एकैपटक सबै पम्पबाट तेल वितरण थाल्ने गरी व्यवस्था गर्न निर्देशन दिइएको गृहमन्त्रालयका प्रवक्ता यादबराज कोइरालाले जानकारी दिनुभयो ।
पम्पहरुलाई बेलुकाको समयमा इन्धन वितरण गर्न नदिने र वितरण हुने तेलको सबै विवरण राखिने मन्त्रालयले जनाएको छ । प्रहरीले अघिल्लो दिन खसेको पेट्रोलको परिमाण प्रमाणित गरेर मात्रै इन्धन वितरण गर्न दिनेछ ।