काठमाडौँ, २१ फागुन । भूकम्प र नाकाबन्दीले उपभोक्ताहरु चरम मारमा परेका बेला आफ्नै उत्पादन धारा तेलमा कालोबजारी गरे पछि पक्राउ परेका दुगड ग्रुपका म्यानेजर किसन लाल दुगड सहित केही कर्मचारीहरुको थुनछेक आदेश सम्बन्धि पुनरावेदन अदालत पाटनले आज फैसला गर्र्दै थुनामै राख्न आदेश दिएको छ ।
न्यायधीश चडिराज ढकाल र अजित मुसलमानको सयुक्त ईजलासले आज जिल्ला अदालत काठमाण्डौंको फैसला सदर गरिदिएको हो ।
करीब २ महिना अघि काठमाण्डौं जिल्ला अदालतका न्यायधीश दिपेन्द्र अधिकारीले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका थिए ।
यस अभियोगका मुख्य अभियुक्त दुगड ग्रुपका अमन जयन अझै फरार रहेका छन् । उनी भारतमा गएर बसेको बताईएको छ । जिल्ला अदालतको थुनछेक आदेश चित्त नबुझेमा पुनरावेदनमा जान पाउन सक्ने ऐनको १७ नं बुदाको प्रयोग गरी उनीहरु पुनरावेदन गएका हुन् ।
उनीहरुले आवस्यक फैसला अनुसार धरौटी तिरेर बाहिर निस्कन विभिन्न तहका व्यक्तिहरुसग‘ सम्पर्क र कुराकानी गरेको उनीहरु निकट स्रोतले जनाएको छ ।
तर पनि उनीहरु सफल हुन सकेनन् । उनीहरु अब सर्वोच्चमा जाने आन्तरीक तयारीमा रहेको बताईएको छ । हाल थुनामा रहेकाहरुमा मोरङ विराटनगर उपमहानगर पालिका ८ का स्थायी वासीन्दा हाल नक्साल बस्ने किसन लाल दुगड ( म्यानेजर ) , कनैयालाल मिश्र , प्रमोद राज अधिकारी सिपी कुसवाहा, भारत उत्तर प्रदेश गोरखपुरका चन्द्रीका प्रसाद कुसवाहा लगायतका रहेका छन् ।
गाडी तथा स्टोरमा धारा तोरीको तेल लगायत आफ्ना उत्पादनहरु लुकाएर बजारमा अभाव गराई कालोबजारी गरेको आरोपमा २०७२ फुष २० गते जिल्ला अदालत काठमाण्डौंले थुनामा राखेर मुद्धा चलाउने आदेश दिएको थियो ।
स्रोतका अनुसार यो प्रकरणपछि अमन जयन भारत तर्फ गएर बसेका छन् भने अन्य केही सञ्चालकहरु पनि अलग्गि सकेका छन् ।
यत्रो प्रतिष्ठित कम्पनीले यस्तो विवादीत काम गर्नु हुन्थ्यो कि हुदैन थियो भनेर भित्र भित्रै समेत सञ्चालकहरुबीच कुरा नमिलेका कारण केही अलग्गिएको बताईएको छ । दुगड ग्रुपले धारा तेल, घ्यु, मसला लगायतका बस्तुहरुको उत्पादन गर्दै आएको छ ।