काठमाडौं, २१ फागुन ।
नेपाली कांग्रेसको १३ औं महाधिवशेनकालागि उम्मेद्वारी मनोनयन दर्ता सम्पन्न भएको छ । पदाधिकारीमा तीन समुहसहित एक कोषाध्यक्षको उम्मेद्वारी परेको छ ।
सभापतिमा रामचन्द्र पौडेल, शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला, महामन्त्रीमा शशाङ्क कोइराला, अर्जुननरसिंह केसी र गगन थापा तथा कोषाध्यक्षमा चित्रलेखा यादव, सीतादेवी यादव, उमाकान्त चौधरी र कृष्णबहादुर कार्कीको उम्मेद्वारी परेको छ ।
पदाधिकारीमध्ये अन्य सबै समूहमा रहेका छन् भने कार्की एक्लैले उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको हो । उम्मेद्वारी मनोनयन दर्ताका लागि मध्यान्ह १२ बजेसम्मको समय रहेको थियो ।
सो उम्मेद्वारी मनोनयनका क्रममा खुल्ला २५ सदस्यमा ९४ जनाको उम्मेद्वारी परेको छ भने खुल्ला महिला ६ सिटमा ४० जनाको उम्मेद्वारी परेको छ ।
यस्तै प्रदेशको १४ सिटका लागि १ सय २ जनाको उम्मेदवारी परेको छ । आदिवासी जनजाति पुरुष तीन सिटमा ५० जना तथा महिला दुई सिटमा १४ जनाको उम्मेद्वारी परेको केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले जानकारी दिनुभयो ।
यस्तै दलिततर्फको तीन सिटमा २१ जना तथा महिलातर्फको दुई सिटमा ६ जनाको उम्मेद्वारी परेको छ । मुस्लिमतर्फको एक सिटका लागि १०, मधेसी पुरुषतर्फ तीन सिटमा १८ र महिलातर्फ दुई सिटमा १० जनाले उम्मेदवारी दिएका छन् ।
अब केहि बेरमा महाधिवेशन अन्तरगत आज बन्द सत्र सुरु हुनेछ । भृकुटीमण्डपमा सुरु हुने बन्द सत्रमा पार्टीको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।
यसैगरी महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले पेश गर्नुभएको संगठनात्मक प्रतिवेदन तथा कोषाध्यक्ष चित्रलेखा यादवको आर्थिक प्रतिवेदनमाथि पनि बन्दसत्रमा छलफल हुने छ । बन्दसत्रले पार्टीको भावी नीति तथा कार्यक्रम तय गर्नेछ ।
बन्दसत्र अगावै नेतृत्वको लागि प्रतिष्पर्धा तीव्र भएपछि नीति तथा कार्यक्रममाथिको छलफल भने ओझेलमा पर्ने देखिएको छ ।