काठमाडौं, २१ फागुन ।
नेपाली कांग्रेसको हिजोबाट राजधानीमा सुरु १३ औं महाधिवेशन अन्तरगत आज बन्द सत्र सुरु हुँदैछ । भृकुटीमण्डपमा दिउँसो सुरु हुने बन्द सत्रमा पार्टीको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।
बन्दसत्र अगावै नेतृत्वको लागि प्रतिष्पर्धा तीव्र भएपछि नीति तथा कार्यक्रममाथिको छलफल ओझेलमा पर्ने देखिएको छ । मनोनयन दर्ताका लागि मध्यान्न १२ बजेसम्मका लागि समय तोकिएको छ ।
वरिष्ठ नेता शेरबहादुर देउवा पक्षधरले हिजै उम्मेदवारी दर्ता गरिसकेको छ । कार्यवहाक सभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौला समूहले आज मनोनयन दर्ता गर्ने तयारी गरेको छ ।
सभापतिका दावेदार पौडेल, देउवा र सिटौला तीनैजना दौडधुपमा व्यस्त छन् । संस्थापनबाटै दुई प्यानल रहेकाले देउवा समूहले आफ्नो जित सुनिश्चित भएको दावी गरेको छ भने पौडेल र सिटौला पनि आफ्नो पक्षले जित्नेमा ढुक्क छ ।
कांग्रेसको विधान अनुसार सभापतिमा विजयी हुनका लागि ५१ प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था छ । पहिलो चरणमा कुनै पनि उमेदवारले बहुमत ल्याउन नसके दोस्रो चरणको निर्वाचन हुनेछ ।