काठमाण्डौ,१९ फागुन ।
नेपाली कांग्रेसको १३ औं महाधिवेशन भोलीदेखी राजधानीमा सुरु हुदैछ । महाधिवेशनको भोली दिउसो १ बजे खुलामन्चमा कार्यबाहक सभापति रामचन्द्र पौडेलले उद्घाटन गर्नुहुने कार्यक्रम छ । बन्दसत्र भने भृकुटीमण्डपमा हुने काग्रेसले जनाएको छ ।
महाधिवेशनमा सहभागी हुन मुलुकभर तथा बाहिरबाट समेत प्रतिनिधि आउने क्रम जारी छ । तीन हजार बढी प्रतिनिधिलाई राजधानीका विभिन्न होटलमा राख्ने व्यवस्था मिलाएको कांग्रेसले जनाएको छ ।
यसैबिच कांग्रेसको १३ औं महाधिवेशन उदघाटन समारोहमा सहभागी भारतको बिहार राज्यका मूख्यमन्त्री नितिशकुमार आज नेपाल आउदै हुनुहुन्छ ।
काठमाडौं बसाईका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, पररष्ट्रमन्त्री कमल थापा लगायतसँग भेटगर्ने कार्यक्रम रहेको जनाइएको छ ।
नितिशकुमार वर्षौंदेखि नेपाल भ्रमणका लागि इच्छुक रहे पनि भारतीय विदेश मन्त्रालयले उहाँलाई भ्रमणको अनुमति दिएको थिएन । उहाँको साथमा जनता दल युनाइटेड विहारका नेता केसी त्यागी पनि आउनु हुने भएको छ ।
त्यस्तै जनता दलका उपाध्यक्ष भगतसिंह कोसियारी तथा कांग्रेस आईका नेताहरू पनि महाधिवेशनका लागि काठमाडौ आउने अतिथि व्यवस्थापन समिति सदस्य राकेश हमालले जानकारी दिनभयो ।
यस्तै मंगोलियाका मन्त्रिपरिषद् सदस्यद्वय योस सन र कोङ चान भेसना काठमाडौं आइसक्नु भएको छ । यस्तै सोसलिस्ट इन्टरनेसनलका महासचिव लुइस आयला र बंगलादेशका सूचनामन्त्री हसनुल हक इनु पनि नेपाल आउदै हुनुहुन्छ ।
कांग्रेस विदेश विभागका अनुसार १६ वरिष्ठ विदेशी नेता आउने टुंगो लागेको छ ।