कालिकोट, १४ फागुन ।
काष्ठमण्डप एयरलाइन्सको नाइन एन एजेबी टुइनअटर विमान आकस्मिक अवतरणका क्रममा कालीकोटको चिल्खायामा दुघटना हुँदा ज्यान गुमाउने दुवैजना विमानका चालक रहेको पुष्टि भएको छ । बाँकी ९ जना यात्रु घाइते भएका छन् ।
नेपाल नागरिक उड्ययन प्राधिकरण क्षेत्रीय कार्यालय सुर्खेतका प्रमुख भुपेन्द्र भट्टका अनुसार विमानका चालक दिनेश न्यौपाने र सहचालक सन्तोष रानाको ज्यान गएको हो । घाइते भएकामध्ये एकजनाको अवस्था गम्भीर रहेको पनि उहाँले जानकारी दिनुभयो ।
घटनास्थलमा अहिलेसम्म उद्धारकर्मीको टोली पुगेको छैन । काष्ठमण्डप एयरलाइन्सले उद्धारका लागि पोखराबाट एयर डाइनेष्टिको विमान घटनास्थलतर्फ पठाइसकिएको जानकारी दिएको छ ।
काठमाडौबाट पनि हेलिकोप्टर पठाउने तयारी भइरहेको एयरलाइन्सले जनाएको छ । घटनास्थलमा कालीकोटबाट डिएसपी किसनसिंह बुढाल नेतृत्वको टोली तथा नेपाली सेनाको टोलीपनि परिचालन गरिएको छ ।