काठमाण्डौ, १२ फागुन ।
म्याग्दीको दाना गाविसको सोलीघोप्टे भीरमा दुर्घटना भएको तारा एयरको बिमानमा ज्यान गुमाएका यात्रुको शव पोखरा लगिएको छ ।
दुर्घटनामा मृत्यु भएकामध्ये २० जनाको शव पोखरा लगिएको हो भने अन्य ३ जनाको शव मुस्ताङस्थित परिवारलाई बुझाईएको छ । मुस्ताङका बिनिता भट्टचन र उनको साढे २ महिनाको छोरा तथा कृष्णलाल भट्टचनको शव पहिचान भएकाले मुस्ताङमै परिवारलाई बुझाईएको प्रहरीले जनाएको छ । अन्यको शव अझै पहिचान हुन सकेको छैन ।
अञ्चल प्रहरी कार्यालय धौलागिरीका एसएसपी छविलाल बन्जाडे जोशीका अनुसार सबै २३ जनाको शव संकलन कार्यं आज विहान सकिएपनि मौसममा आएको खराबीका कारण घटनास्थलमा हेलिकप्टर पुग्न नसक्दा ढिलो गरि शव पोखरा लगिएको हो । हावाहुरीको गति कम भएपछि दिउसो १ बजेतिर मात्रै हेलिकप्टर घटनास्थल पुगेको थियो ।
शव संकलनका लागि हिजैदेखि नेपाली सेना, प्रहरी, मृतकका आफन्त तथा स्थानीयबासी खटिएका थिए । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ढल्ब्ज्ज् ट्वीनेअटर विमान हिजो म्याग्दीको दाना गाविसस्थित सोलीघोप्टे भीरमा दुर्घटना हँुदा चालक दलका ३ सदस्यसहित २३ जनाको मृत्यु भएको थियो ।