अर्काे नाकाबन्दी गर्नुपर्ने आवश्यकता छैन : प्रम ओली

अर्काे नाकाबन्दी गर्नुपर्ने आवश्यकता छैन : प्रम ओली

  • आइतवार, फाल्गुन ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

नयाँदिल्ली, ९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानमाथिका असन्तुष्टिका नाममा भारतीय सीमामा अर्काे नाकाबन्दी गर्नुपर्ने कुनै आवश्यकता नभएको बताउनु भएको छ ।

भारतको राजकीय भ्रमणमा भारतमा रहनुभएका प्रधानमन्त्री ओलीले आज यहाँस्थित नेपाली राजदूतावासमा आयोजित पत्रकार सम्मेलनमा संविधानमा कुनै ठाउँमा विभेद र असमानता नरहेको र जनताले देखाएका कुनै विषय भएमा संवादका आधारमा संशोधन गर्न सरकार लचिलो भएकाले अर्काे चरणको आन्दोलनमा जानुपर्ने आवश्यकता नरहेको स्पष्ट गर्नुभयो ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पुनः नाकाबन्दीको कार्यक्रम ल्याउने चेतावनी दिएको भन्ने भारतीय पत्रकारको प्रश्नमा प्रधानमन्त्री ओलीले एक हिन्दी गीतको बोल ‘कोही तो बतादो हमे’ स्मरण गर्दै भन्नुभयो– “संविधानमा कतै विभेद छ र पुनः नाकाबन्दी गर्छु भनेर कसैले भन्छ भने म स्वदेश फर्केर सोध्नेछु कि संविधानमा कहाँ छ विभेद ? किन असन्तुष्ट ? आउनुस् खुल्ला दिमागले छलफलमा बसौँ ।”

उहाँले नेपालमा आठवर्ष लामो प्रजातान्त्रिक प्रक्रियाबाट समावेशी लोकतान्त्रिक चरित्रको संविधान बनेको जनाउँदै भन्नुभयो– “यो रातारात वा एकाएक बनेको संविधान होइन । प्रक्रिया र सामग्री दुवै दृष्टिले लोकतान्त्रिक छ ।”

संविधान जारीपछि तराई–मधेसका दलले गरेको आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण नेपालमा पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या उत्पन्न भएको थियो । हाल नाका सञ्चालन भएपछि प्रधानमन्त्री ओली भारत भ्रमणमा आउनु भएको हो ।

पछिल्ला दिनमा भारत–चीनसँग थप नाका खोल्ने र सहयोग लिने तयारीबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले नेपाल कुनै मुलुकविरुद्ध कुनै मुलुकलाई प्रयोग गर्ने (कार्ड खेल्ने) पक्षमा नरहेको र संविधानपछिको नेपाललाई आर्थिक समृद्धिको बाटोमा डो¥याउन अग्रसर रहेको स्पष्ट गर्नु भयो ।

प्रधानमन्त्री ओलीले आफ्नो पहिलो विदेश भ्रमण दुई देशको सम्बन्ध विस्तारमा उल्लेखनीय उपलब्धि भएको बताउँदै भारत सरकार, दल, नेता, बुद्धिजीवी, जनता र सञ्चारमाध्यमले देखाएको स्वागत, आतिथ्यता र सौहार्दपूर्ण व्यवहारको प्रशंसा गर्दै अब दुई देशका बीचमा सबै प्रकारका असमझदारी हटेकाले आफ्नो भ्रमण सफल र परिणाममुखी भएको बताउनु भयो ।

उहाँले भन्नुभयो– “मेरो भ्रमणको उद्देश्य पूर्णतः सफल भएको छ । म यहाँ कुनै खरिदसूची लिएर आएको थिइनँ । केवल मित्रता व्यक्त गर्न र लिन आएको हुँ । त्यो प्राप्त भएको छ । उहाँले भूकम्पपछिको अवस्थामा भारतले गरेको सहयोगप्रति धन्यवाद पनि दिनु भयो ।

पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री ओलीको भ्रमणले दुई देशको सम्बन्ध पूर्ववत् (सामान्य) अवस्थामा फर्काउन भूमिका निर्वाह गरेको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी