काठमाडौं फागुण ६ / प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघको संयुक्त आयोजनामा विहिबार राजधानीमा संविधानको कार्यान्वयनमा प्रेसको भूमिका विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि माननीय सचना तथा सञ्चारमन्त्री शेरधन राईले पर्दा भित्र र वाहिर रहेका अनेकन षडयन्त्रकारी तत्वले संविधान घोषणा हुन नदिने चलखेल भएको बेला वर्तमान संविधान जारी भएको र संविधानको रक्षाका निम्ति सवै दल एकजुट हुनुपर्ने , मिडिया र जनताले अपनत्व ग्रहण गर्दै संविधानको प्रभावकारी कार्यान्वयनको लागि खबरदारी गर्नुपर्ने दायित्व रहेको धारणा राख्नुभएको थियो । पूर्व प्रधानमन्त्री स्व.शुशील कोइरालाको तत्परताले नै संविधान आएको वताउँदै अग्रगामी र नमुना भएको वताउनु भयो ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष वोर्णवहादुर कार्कीले सार्वभौम अधिकार प्रयोग गरेर जनताद्वारा निर्माण गरिएको संविधानमाथि विभिन्न कोणवाट आक्रमण भैरहेको भन्दै यसको प्रभावकारी कार्यान्वयनमा लैजान रक्षा, संरक्षण गर्नु पनि सम्पूर्ण प्रेस जगत र जनताको दायित्व हुने वताउनुभयो । संसारमा कहीपनि एकैपल्ट वनाएको संविधान पूर्ण नभएको वताउनुहुँदै परिमार्जन र संशोधन गरी आँखाको नानीझैं संरक्षण गर्नु प्रेसको वढ्ता जिम्मेवारी हुने धारणा राख्नु भयो ।
६६ औं प्रजातन्त्र दिवसका अवसरमा आयाजित सो कार्यक्रममा प्राध्यापक डा. रामकृष्ण रेग्मीले कार्यपत्र प्रस्तुत गर्दै सवै मिडियाले संविधानका धाराहरुलाई चर्चाको विषय संविधानमय वनाउनु आवश्यक भैसकेको भन्दै सवैलाई नेपालको संविधानको गहन अध्ययन गर्न आग्रह गर्नुभयो । पहिले र अहिलेको वीचको अन्तर देखाउन मिडियाले नसकेको, कार्यान्वयनका लागि दवाव निर्माण गर्न आवश्यक रहेको धारणा राख्नु भएको थियो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले संविधानको कार्यान्वयनको लागि वृहत छलफल र वहसको विषय वनाउँदै देशव्यापी लैजानुपर्ने धारणा राख्नुभयो ।कार्यक्रममा अग्रज पत्रकार सुमन खरेल, प्रकाश रिमाल, सुरेश आचार्य, निमकान्त पाण्डे लगायतका वक्ताहरुले सरकार, मिडिया, जनता सवैको एकीकृत कार्यायोजनावाट वढ्नु आवश्यक रहेकोमा जोड दिनु भएको थियो ।