काठमाडौँ, ५ फागुन ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलहरुले व्यवस्थापिका–संसद्को आजको बैठक बहिष्कार गरेका छन् ।
यसअघि सदनको बैठक सुरु हुने बित्तिकै सांसद नरसिंह चौधरीले सरकार मधेस आन्दोलनका माग सम्बोधन गर्न गम्भीर नबनेको आरोप लगाउनुभयो ।
मोर्चाका तर्फबाट भनाइ राख्दै उहाँले मङ्गलबारको बैठकमा कानुनमन्त्रीले राख्नुभएको अभिव्यक्तिप्रति मोर्चा आश्वस्त हुन नसकेको धारणा राख्नुभएको थियो ।
नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्लेले पर्सि शुक्रबारदेखि प्रधानमन्त्री केपी ओलीले गर्न लाग्नुभएको भारत भ्रमणका क्रममा असमान खालका कुनै पनि सन्धि सम्झौता नगर्न सुझाव दिनुभयो ।
सांसद हरिचरण साहले भारत भ्रमणका क्रममा दुई मुलुकबीच तिक्तता आउने कुनै पनि काम नगर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।
प्रस्ताव स्वीकृति
बैठकले व्यवस्थापिका–संसद् नियमावली मस्यौदा समितिका सभापति राधेश्याम अधिकारीले समितिको कार्यविधि थपसम्बन्धी प्रस्तुत गर्नुभएको प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।
यसअघि सभामुख ओनसरी घर्तीले विभिन्न मितिमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रहरु पढेर सुनाउनुभएको थियो ।