काठमाण्डौ, ४ फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा ४६ सदस्यीय टोली सहभागी हुने भएको छ । मन्त्रिपरिषदको आज साँझ बसेको बैठकले भ्रमण टोली स्वीकृत गरेको हो । प्रधानमन्त्रीले फागुन ७ गतेदेखि भारतको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ ।
मन्त्रिपरिषद बैठकले आज सुरु ‘मेरो धरहरा, म बनाउँछु’ अभियानमा सबै मन्त्रीले एक महिनाको तलब दिने निर्णय गरेको छ । अभियानको उद्घाटन गर्दै प्रधानमन्त्रीले यसअघि नै एक महिनाको तलब दिने घोषणा गर्नुभएको थियो । बैठकले सबै देशवासीलाई धरहरा निर्माण अभियानमा सहभागी हुन आह्वान गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जानकारी दिनुभयो ।
बैठकले प्रधानमन्त्रीको भारत भ्रमणअघि सिमांकन पुनरावलोकनका लागि संयन्त्र बनाउने निर्णय गरेको छ । त्यसको विस्तृत तयारी भोली बस्ने दलीय बैठक बाट हुने मन्त्री राईले जानकारी दिनुभयो ।