काठमाण्डौ ,४ फागुन ।
नेपाल बिद्युत प्राधिकरणले दुई घण्टा लोडसेडिङ घटाउने भएको छ । भारतबाट ८० मेगावाट बिजुली ल्याएसँगै लोडसेडिङ् २ घण्टा घट्ने भएको हो ।
ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट भोलि (बुधवार)देखि ८० मेगावाट विद्युत् ल्याइने छ । उक्त परिमाणमा विद्युत् ल्याएसँगै दैनिक दुई घण्टा लोडसेडिङ कम हुने जनाइएको छ । भारतीय बिजुलीको मूल्य भने प्रतियुनिट ७ रुपैयाँ ३ पैसा पर्ने भएको छ ।
विद्युत् प्राधिकरण र भारत सरकारको नोडल एजेन्सी एनभीभीएनबीच बुधवारबाट बिजुली खरिद बिक्री सम्झौता भईसेकेको छ । सम्झौतापत्रमा प्राधिकरणका कार्यकारी निर्देशक मुकेश काफ्ले र एनभीभीएनका महाप्रबन्धक एके मग्गुले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार एनभीभीएनले अन्तरदेशीय प्रसारण लाइन हुँदै प्राधिकरणलाई बुधबारदेखि प्रतियुनिट भारु ३.४ (५ रुपैयाँ ५०) मा ८० मेगावाट बिजुली निर्यात गर्न थाल्ने छ ।
भारत सरकारले प्रधानमन्त्री केपी ओलीको नयाँदिल्ली भ्रमणका अवसरमा शुक्रबारदेखि औपचारिक रूपमा नेपाललाई बिजुली निर्यात गरेको घोषणा गर्ने छ ।
प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण गरेका नेपाल र भारततर्फका दुई कम्पनीलाई प्रतियुनिट १ रुपैयाँ ५३ पैसा हिलिङ चार्ज (प्रसारण शुल्क) तिर्नुेपर्ने छ । नेपालतर्फ प्रसारण लाइन कम्पनी र भारततर्फ भारतीय प्रसारण लाइन कम्पनीले अन्तरदेशीय प्रसारण लाइन निर्माण गरेका हुन् ।
भारतबाट उक्त प्रसारण लाइनबाट बिजुली आयात गर्दा प्राधिकरणले ती कम्पनीलाई १ रुपैयाँ ५३ पैसा हिलिङ चार्ज तिर्नुपरेको हो । हिलिङ चार्ज जोडेपछि उक्त प्रसारण लाइनबाट आयात गरेको बिजुलीको मूल्य ७ रुपैयाँ ३ पैसा पर्ने छ ।
सम्झौताअनुसार नेपालले असारसम्म यही बाटोबाट ८० मेगावाट बिजुली ल्याउने छ । प्राधिकरणले ८० मेगावाट आयात गरे पनि प्राविधिक चुहावटका कारण यथार्थमा ७५ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिने जनाईएको छ ।
२२० केभीएको सबस्टेसन निर्माण भएपछि भारतबाट थप १ सय २० मेगावाट ल्याउने जानकारी कार्यकारी निर्देशक काफ्लेले दिनुभयो ।