नवलपरासी, १ फागुन ।
नवलपरासीको सुनवलमा शुक्रबारदेखि दोस्रो पश्चिमाञ्चल स्तरीय नवलपरासी औँद्योगिक व्यापार मेला सुरु भएको छ ।
मेलाका मुख्य आकर्षणमा गौतम बुद्धको अस्तु धातु र रामग्रामस्तुप प्रमुख रहेका छन् ।
मेलामा आउने दर्शकलाई रामग्रामस्तुपको अवलोकन गर्नमा अभिप्रेरित गर्ने विश्वास आयोजक उद्योग वाणिज्य सङ्घ नवलपरासीको छ । त्यस्तै अष्ट्रिज र ईमु चराका साथै संसारमै दुर्लभ मानिएको डाइनोसर पनि मेलाको आर्कषणका रुपमा राखिएको छ ।
कृषि तथा पर्यटनको प्रवद्र्धनका साथै नवलपरासीलाई औद्योगिक जिल्लाको रुपमा परिचित गराउने उद्देश्यले आयोजना गरेको मेलामा भारत, पाकिस्तान र बङ्गादेशका व्यापारीको समेत गरी ३०० वटा स्टल रहेका छन् ।
मेला फागुन ११ सम्म सञ्चालन हुने छ । मेला अवधिभर रु सात करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य लिइएको मेलामा रु ६५ लाख खर्च हुने अनुमान गरिएको छ । \