खोटाङ, २८ माघ ।
भान्छा कोठाबाट सल्किएको आगोले घर जल्दा खोटाङमा एघार लाख बढीको क्षति भएको छ ।
गएराति साँढे ११ बजेतिर भान्छा कोठाबाट सल्किएको आगोले दिक्तेल नगरपालिका–११ लफ्याङका तुलाराम विश्वकर्माको घर तथा घरमा भएका सामग्री जलेर नष्ट हुँदा एघार लाखभन्दा बढीको क्षति भएको हो ।
बेलुकाको खाना पकाएर छाडिएको आगो घर पछाडिपट्टिबाट सल्कँदै गएर पूरै घर जलेको स्थानीयवासी झुलेन्द्र विश्वकर्माले बताउनुभयो ।
आगोले तीनतले घरघरमा भएका अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, काठपातलगायत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । रातको समयमा आगलागी भएकाले घरभित्र रहेका कुनै पनि सामान निकाल्न नसकिएको पीडित परिवारले बताएका छन् ।
आगलागीमा परी घर तथा घरमा भएका सबै सामग्री जलेपछि सातजनाको विश्वकर्मा परिवार बिचल्लीमा परेका छन् । आगलागी पीडित विश्वकर्मा परिवार अहिले छिमेकीकामा आश्रय लिएर बसेका छन् ।
नगरपालिकामा रहेको दमकल घटनास्थल पुग्न नसक्दा ठूलो क्षति भएको स्थानीयवासीको गुनासो गरे । साँघुरो सडक तथा सबै ठाउँमा सडक निर्माण गर्न बाँकी रहेकाले नगरभित्रै हुने आगलागीका घटनामा दमकल प्रयोग गर्न सकिएको छैन ।