काठमाडौँ, २६ माघ । एकीकृत नेकपा (माओवादी)का सचिव वर्षमान पुन स्वास्थ्य उपचारपछि आज स्वदेश फिर्ता हुनु भएको छ ।
लामो समयदेखि कलेजो रोगका कारण पीडित हुनुभएका पूर्व अर्थमन्त्री समेत रहनुभएका पुन थाइल्यान्डस्थित समितिभेज अस्पतालमा उपचारत हुनुहुन्थ्यो । उहाँसँगै सभामुख ओनसरी घर्ती पनि आजै स्वदेश फर्कनु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उहाँले आफ्नो स्वास्थ्यमा पूर्ण सुधार भएको बताउनु भयो ।
‘‘लामो समयको अनुसन्धानपछि टक्सिस हेपाटाइटिस भएको पुष्टि भयो, दुई महिना सात दिनको उपचारपछि म फर्केको छु, अब मुलुक र पार्टीको काममा निरन्तर लाग्नेछु’’ सचिव पुनले भन्नु भयो ।
आफ्नो स्वास्थ्यप्रति राष्ट्रपति विद्यादेवी भण्डारी उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पार्टीका नेता तथा कार्यकर्ता, विभिन्न शुभेच्छुकले व्यक्त गर्नुभएको भावना र स्वास्थ्यलाभको कामनालाई सकारात्मक रुपमा लिएको र केही दिन आराम गरेर पार्टी काममा फर्कने सचिव पुनको भनाइ थियो ।
सचिव पुनलाई स्वागत गर्न एमाओवादीका नेता तथा कार्यकर्ता विमानस्थल पुगेका थिए ।