काठमाडौँ, २६ माघ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङ समुदायको पर्व सोनाम ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली तामाङ समुदायका दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि सुस्वास्थ्य, भाइचारा एवम् उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
आज शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले सबै नेपालीबीच एकताको सन्देश दिँदै आपसी मनोरञ्जन र खुसी साटासाट गरी मनाइने यस पर्वले हामीबीच बन्धुत्व, पारस्परिकता र सद्भाव कायम राख्ने र समृद्धितर्फको यात्रा गर्न मद्दत मिल्ने उल्लेख गर्नुभएको छ ।
“विविधताले भरिपूर्ण नेपाली संस्कृतिभित्रको तामाङ जाति तथा समुदायको संस्कृति आफैँमा मौलिक, सुसंस्कृत, सम्पन्न र समृद्ध छ, यसले सबै नेपालीमा नयाँ उमङ्ग सहित हर्षोल्लास र शान्तिको सन्देश फैल्याई एकता, सद्भाव, मित्रता, मेलमिलाप र सहिष्णुतालाई अक्षुण्ण राख्न तथा सबै चाडपर्व, भाषा, वेशभूषा, संस्कृति एवम् परम्पराको संरक्षण र सम्वद्र्धन गर्ने प्रेरणा मिलोस्” राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।
यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले यस पर्वको माध्यमबाट नेपालीका बीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गर्दै सबै नेपालीलाई आपसी सहमति र सहकार्यको बाटामा अघि बढ्न प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।
उपराष्ट्रपतिले यस पर्वले सिङ्गो नेपाली जनताको एकता र सहकार्यलाई सुदृढ बनाउँदै प्रगति पथमा अघि बढ्न सबैलाई ऊर्जा एवम् उमङ्ग प्रदान गरोस् भन्ने कामना समेत गर्नुभएको छ ।