काठमाडौँ, २६ माघ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङ समुदायको सोनाम ल्होसार र शेर्पा समुदायको ग्याल्पो ल्होसार पर्वका उपलक्ष्यमा स्वदेश र विदेशमा बस्ने सो पर्व मान्ने सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले आज शुभकामना सन्देश जारी गरी नेपाल विविध भाषा, संस्कृति, रहनसहन र धर्म सम्प्रदायले भरिएको मुलुक भएको र अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रो साझा पहिचान भएको उल्लेख छ ।
सन्देशमा भनिएको छ– “प्रत्येक जातजाति र धर्मावलम्बीले सदियाँैदेखि आआफ्ना सांस्कृतिक पहिचान बोकेका चाडपर्व मनाउँदै आइरहेका छन्, यसै क्रममा आज तामाङ र शेर्पा समुदायले ल्होसार पर्व मनाइरहेका छन्, पर्वले आत्मीयता, भाइचारा, एकता र आपसी सम्बन्धलाई सुदृढ बनाउने मेरो विश्वास छ ।”
यस पर्वले समुदायका सबैमा उमङ्ग, हौसला, उत्साह र घनिष्ठतामा वृद्धि गर्नेमा पनि प्रधानमन्त्री ओलीले विश्वास व्यक्त गर्नुभएको छ । मुलुकको राष्ट्रिय एकता, सार्वभौमिकता, अखण्डता, सामाजिक सदभाव, शान्ति र लोकतन्त्रको सुदृढीकरणमा यस्ता सांस्कृतिक पर्वले प्रेरणा प्रदान गर्ने छन् भन्ने विश्वास उहाँले व्यक्त गर्नुभएको छ ।
त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले २८५२औँ सोनाम ल्होसारका अवसरमा सुख, शान्ति, समृद्धि एवम् प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।
मन्त्री पोखरेलले आज विज्ञप्ति जारी गरी यस पर्वले सम्पूर्ण नेपालीको राष्ट्रिय एकता, धार्मिक सहिष्णुता एवम् सांस्कृतिक विविधताको सम्मान सम्वद्र्धन गरोस् भन्ने कामना गर्नुभएको हो ।