काठमाडौँ, २५ माघ ।
तराईमा आपसी सद्भाव बढाउने उद्देश्यले शान्तिका लागि साझा आभियान ९कोक्याप० र नेपाल जेसिजले संयुक्तरूपमा आयोजना गरेको ‘शान्ति, समृद्ध राष्ट्र निर्माणका लागि संवाद र सहकार्य राष्ट्रव्यापी अभियान २०७२’ सम्पन्न भएको छ ।
यही माघ २० गतेबाट सुरु भएको सो अभियान टोली धनगढी, नेपालगन्ज, बुटवल, वीरगन्ज, जनकपुर, लहान, राजविराज र विराटनगर हुँदै आज काठमाडौँ फर्किएको छ । अभियानका क्रममा आन्दोलनरत पक्ष, सरकार पक्ष, प्रतिपक्ष र नागरिक अगुवा तथा पेसाकर्मीसँग सद्भावपूर्ण संवाद कार्यक्रमको आयोजना गरी समस्या समाधानको बाटो खोजिएको ९कोक्याप०का अध्यक्ष रेमबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।
अध्यक्ष विश्वकर्माले तराईका जिल्लामा आन्दोलन भइरहँदा धेरै मानिस त्यसतर्फ जान सकिरहेका थिएनन्, तर तराईमा सद्भाव बढाउन हाम्रो अभियानले तराईका नौ स्थानमा संवाद कार्यक्रम आयोजना ग¥यो, संवादका क्रममा मधेसी समुदायले आन्दोलन गर्नु आफूहरूको बाध्यता भएको बताउनुभयो ।
जेसिजका अध्यक्ष जगत पोख्रेलले पछिल्लोपटक तराई र पहाडबीच बढ्दै गएको भावनात्मक दूरी संवाद र सहकार्यको माध्यमबाट कम गर्नका लागि पनि अभियान सञ्चालन गरिएको बताउनुभयो । अभियानका क्रममा सरोकारवालालाई केही साझा विषयमा गराइएको प्रतिबद्धतालाई अभियानले केन्द्रीय नेतासमक्ष बुझाई निकासका लागि दबाब दिनेछ ।